रास्वपा छोड्दै सुमना श्रेष्ठः ‘गल्ती स्वीकार नगर्ने पार्टीलाई म सहन सकिनँ’

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेता तथा पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले पार्टी छोडेकी छन्। पार्टी छोड्ने निर्णयको जानकारी दिँदै उनले भनिन्, ‘अब खुल्ला रुपमा आक्रमण गर्ने हो भने पनि सजिलो बनाइदिएको छु। मनलाग्दी चलुन्जेल मनलाग्दी गर्नुहोला। मैले पार्टी छाडेँ।’
सुमना श्रेष्ठका अनुसार, पार्टी नेतृत्वले गल्तीमाथि गल्ती गर्दै आएको र कहिल्यै गल्ती स्वीकार नगर्ने व्यवहार उनलाई स्वीकार्य थिएन। उनले भनिन्, ‘गल्तीमाथि गल्ती गरिरहने र त्यसको बोझ पार्टीका सबैले बोक्नुपर्छ? पार्टीभित्र आलोचना गर्नेहरूका विरुद्ध मिडिया ट्रायल गरिन्छ।’
उनले थपिन्, ‘जहिलेदेखि राष्ट्रिय स्वतन्त्र पार्टीले देशभन्दा माथि पार्टी र पार्टीभन्दा माथि नेतालाई राख्न थालेको हो, त्यतिबाट नै मैले आलोचना गर्दै आएको हुँ।’
सुमना यसअघि रास्वपाको सह-महामन्त्रीबाट राजीनामा दिइसकेकी थिइन्। सांसद भएकाले पार्टीको काम गर्न समय नहुने कारणले उनले राजीनामा दिएकी थिइन्। समानुपातिकबाट सांसद बनेकी सुमना प्रचण्ड प्रधानमन्त्री हुँदा शिक्षामन्त्री पनि भएकी थिइन्।
पार्टीभित्रैदेखि सुशीला कार्की नेतृत्वको क्याबिनेटमा मन्त्री बन्ने चर्चा चलेपछि उनले आफू त्यस दौडमा नरहेको स्पष्ट पारेकी थिइन्। जेनजी विद्रोहीसँग निरन्तर सम्पर्कमा रहेकी सुमना प्रधानमन्त्री कार्कीको शपथग्रहणमा पनि सहभागी भएकी थिइन्।













