नवनियुक्त अर्थमन्त्री खनालको घोषणा : पुरक बजेट नआउने, अनावश्यक खर्च कटौती हुने
३० भाद्र २०८२, सोमबार १४:५२

काठमाडौं । नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले सोमबार पदभार ग्रहण गर्दै तत्कालीन सरकारले ल्याएको बजेटलाई नै कार्यान्वयन गर्ने र कुनै पनि हालतमा पुरक बजेट नल्याउने घोषणा गरेका छन् ।
मन्त्री खनालले पदभार ग्रहणपछि पहिलो निर्णयकै रूपमा पूर्व तयारीविहीन र टुक्रा–टुक्रा योजनाहरू कार्यान्वयन नगर्ने स्पष्ट नीति लिएका छन् । उनका अनुसार अब अनावश्यक क्षेत्रमा छुट्याइएको बजेट फिर्ता लिइनेछ ।
उनले नयाँ सवारीसाधन खरिदमा रोक लगाउने पक्षमा आफू रहेको बताउँदै, सरकारी कामकाजका लागि उपलब्ध पुरानै सवारीसाधन प्रयोग गर्नुपर्ने धारणा राखे ।
अर्थमन्त्री खनालले मुलुकको अर्थतन्त्र सुधार गर्नका लागि सबै निकायसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिवद्धता जनाए ।













