सिंहदरबार र आसपासका निकायका १०४२ सवारी साधन जलेर कवाड बने, बीमा भएका सवारीधनी ढुक्क

काठमाडौं । गत साताको सोमबारदेखि काठमाडौंसहित देशका विभिन्न स्थानमा भएको जेन–जी आन्दोलनले देशलाई मानबिय क्षति मात्र नभएर ठूलो मात्रामा भौतिक क्षति पुर्याएको छ ।
भदौ २३ गतेदेखि सुरु भएको उक्त आन्दोलनले उग्र रुप लिदै भदौ २४ गते काठमाडौं उपत्यकासहित देशभरी रहेका कैयौं सरकारी तथा प्रहरी कार्यालयहरु आगो लगाएर जलाइएको थियो ।
प्राप्त विवरण अनुसार काठमाडौंमा रहेको सिंहदरबार र आसपासका सरकारी निकायमा रहेका एक हजार ४२ वटा सवारी साधनहरु जलेर कवाड बनेका छन् । जेन–जी आन्दोलनले सिंहदरवार लगायत आसपासका सरकारी कार्यालयमा रहेका ४४१ वटा साना गाडी तथा बस र ६०१ वटा स्कुटर तथा मोटरसाइकलहरु जलाएको छ ।
सरकारले सार्वजनिक गरेको सवारी साधनको विवरणमा कतिपय सरकारी निकायमा गन्न नसकिने अवस्थामा सवारी साधनहरु जलेका छन् । विवरणमा सर्वोच्च अदालत र सडक विभागमा जलेका सवारी साधनहरुको विवरण निकाल्न सकिएको छैन् । उक्त सरकारी निकायमा भएका सवारी साधनहरु ठूलो मात्रामा जलाइएको थियो ।
सर्वोच्च अदालतमा रहेका कैयौ पुराना, नयाँ तथा व्यक्तिगत निजी सवारी साधनसमेत जलाइएको थियोे । जेन–जी आन्दोलनकारीहरुले कार्यालयभित्र रहेका सवारीहरुलाई बाहिर सडकमा समेत ल्याएर जलाएका थिए ।
सबैभन्दा धेरै सडक विभागमा क्षति पुगेको छ, जसमा ६५ चारपाङ्ग्रे सवारीसाधन र असंख्य मोटरसाइकल/स्कुटर पूर्ण रूपमा जलेका छन्। त्यसपछि सर्वोच्च अदालतका ५१ गाडी, सहरी विकास तथा भवन निर्माण विभागका ५० गाडी र अनुमानित दुई सय मोटरसाइकल, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका ४७ गाडी र ७४ मोटरसाइकल नष्ट भएको विवरण छ।
अर्थ मन्त्रालयका ३६ गाडी र ५४ मोटरसाइकल/स्कुटर नष्ट भएको मन्त्रालयका प्रवक्ता टङ्कप्रसाद पाण्डेले जानकारी दिए। त्यस्तै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा ३३ साना गाडी, दुई बस र ३६ मोटरसाइकल जलेका छन्।

यी निकायका पार्किङमा रहेका निजी सवारीसाधन समेत जलेका छन् तर तिनको विवरण संकलन भइसकेको छैन। आन्दोलन सुरु भएपछि मन्त्रालयका गाडी निजी घरमा नराखी सिंहदरबारमै पार्किङ गर्न निर्देशन दिइएको थियो। सुरक्षा दृष्टिले सुरक्षित मानिएको सिंहदरबारमै आगजनी भएपछि क्षति अकल्पनीय बनेको छ।
सरकारी निकायमा रहेका हजारौं सवारी साधनहरु जल्दा सरकारी निकायहरुले प्रवाह गर्ने सेवा निकै लामो समयसम्म प्रभावित हुने देखिएको छ । जेन–जी आन्दोलनमा सवारीसाधन जलेर नष्ट भएपनि बीमा नबिकरण भएका सवारी साधनहरु ढुक्क रहेका छन् ।













