उद्योग मन्त्रालयको सुनिश्चितता: ‘बजारमा अत्यावश्यक वस्तु पर्याप्त, अभावको कुनै चिन्ता छैन’

३१ भाद्र २०८२, मंगलवार १२:५९

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले दैनिक अत्यावश्यक उपभोग्य सामग्री तथा पेट्रोलियम पदार्थको अभाव नरहेको जानकारी दिएको छ। मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै उपभोक्ता र बजारलाई सुनिश्चित गर्न र अत्यधिक वस्तु अनावश्यक रूपमा सञ्चित नगर्न/नगराउन सबैमा अनुरोध गरेको छ।

मन्त्रालयका अनुसार, बजार अनुगमनलाई प्रभावकारी बनाउने, उपभोक्ता अधिकार हनन गर्ने वा दैनिक उपभोग्य वस्तुको आपूर्ति शृङ्खलामा अवरोध पुर्‍याउने व्यक्तिहरू वा संस्था विरुद्ध कारबाही गरिनेछ।

आसन्न चाडपर्वलाई लक्षित गर्दै, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत देशभर आजैदेखि १५३ ठाउँमा सहुलियत मूल्य पसल सञ्चालन गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ।

साथै, हालै मुलुकमा उत्पन्न विशेष परिस्थितिबाट उद्योग, वाणिज्य, व्यापार तथा आपूर्ति क्षेत्रमा परेको असर र नजिकिँदै गरेको चाडपर्वमा आपूर्ति तथा बजार व्यवस्थापनको रणनीति सम्बन्धमा मन्त्रालयले निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गरेको थियो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*