प्रदर्शनले पुर्याएको क्षति सम्बोधनमा सक्रिय सरकार, अर्थमन्त्री खनालले गरे ब्यवसायीहरुसँग छलफल

काठमाडौं । २०८२ भदौ २३ र २४ मा भएको प्रदर्शनका कारण निजी क्षेत्रका उद्योग, व्यवसाय तथा लगानीमा पुगेको क्षति र उद्योगी–व्यवसायीका समस्याबारे छलफल गर्न अर्थमन्त्री रामेश्वर खनालले सोमबार अर्थ मन्त्रालयमा निजी क्षेत्रका प्रतिनिधिमूलक संघसंस्था र उद्योगी व्यवसायीसँग अन्तरक्रिया गरेका छन्।
छलफलमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर्स एण्ड कमर्स, नेपाल उद्योग परिसंघ, नेपाल अटो डिलर्स एशोसिएसन, चौधरी ग्रुप, भाटभटेनी ग्रुपलगायतका उद्योगी–व्यवसायीको सहभागिता थियो। निजी क्षेत्रका प्रतिनिधिहरूले नवनियुक्त अर्थमन्त्रीलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै उद्योग–व्यवसायको सुरक्षा, प्रवर्द्धन र लगानी प्रोत्साहनमा नेपाल सरकारले विश्वस्त तुल्याउनुपर्ने आवश्यकता औंल्याए। साथै, प्रदर्शनका क्रममा उद्योग–व्यवसायमा भएको क्षतिसम्बन्धी कर सहुलियत, सहुलियतपूर्ण कर्जा, बीमा रकम छिटो भुक्तानी गर्ने व्यवस्था लगायतका मागसमेत राखे।
छलफलमा निजी क्षेत्रलाई सरकार, राजनीतिक दल, पत्रकार र नागरिक समाजले हेर्ने दृष्टिकोणमै परिवर्तन आवश्यक रहेको धारणा पनि प्रस्तुत गरियो।
अर्थसचिव घनश्याम उपाध्यायले दशैंबाहेक अन्य सार्वजनिक बिदामा पनि बैंक तथा भन्सार खुला राख्ने व्यवस्था गर्ने र पहिरोका कारण अवरुद्ध तातोपानी नाका जोड्ने बाटो खुलाउन सरकारले प्रयास गरिरहेको जानकारी दिए।
उद्योगी–व्यवसायीलाई सम्बोधन गर्दै अर्थमन्त्री खनालले सोमबार (भदौ ३१) अटो सेक्टर थापाथली, भाटभटेनी सुपरस्टोर कोटेश्वर, अन्नपूर्ण मिडिया हाउस, कान्तिपुर मिडिया हाउस र ट्राफिक प्रहरी कार्यालयका क्षतिग्रस्त संरचनाको अवलोकन गरेको जानकारी दिए। उनले निजी क्षेत्रका समस्याबारे आफू परिचित रहेको उल्लेख गर्दै सार्वजनिक तथा निजी क्षेत्रमा पुगेको क्षतिको पुनर्निर्माणका लागि कोष खडा गर्ने निर्णय भइसकेको जानकारी गराए।
अर्थमन्त्री खनालले उद्योग–व्यवसायीको समस्या सरकारकै समस्या भएकाले यसबाट बाहिर निस्कनका लागि आवश्यक कार्यक्रम ल्याइने बताए। उनले कर नीति तथा मौद्रिक नीतिबाट दिन सकिने सहुलियतबारे सरकार सकारात्मक रहेको पनि बताए। साथै, अबका दिनमा निजी क्षेत्र र नागरिकले सरकारको सेवा वितरणमार्फत सकारात्मक परिवर्तन अनुभव गर्न सक्ने गरी सबै सार्वजनिक निकायमा कार्यरत कर्मचारीलाई सेवा प्रवाहमा जिम्मेवार बन्न निर्देशन दिइसकेको जानकारी दिए।













