जेन–जी आन्दोलनको क्षतिले गण्डकी प्रदेशमा पर्‍यो १ अर्ब १३ करोडको बीमा दावी, कुन कम्पनीमा कति ?

१ आश्विन २०८२, बुधबार ११:०५

काठमाडौं । गत साताको सोमबार अर्थात भदौ २३ गतेदेखि सुरु भएको जेन–जी आन्दोलनमा गण्डकी प्रदेशमा मात्रै एक अर्ब १३ करोड ४० लाख रुपैयाँको प्रारम्भिक बीमा दावी परेको छ । नेपाल बीमा प्राधिकरणको गण्डकी प्रदेशले सार्वजनिक गरेको विवरण अनुसार उक्त प्रदेशमा भदौ ३० गतेसम्ममा कुल १५९ वटा बीमा दावीबापत उक्त रकमको कुल बीमा दावी परेको हो ।

सार्वजनिक विवरण अनुसार गण्डकी प्रदेशमा हिमालयन एभरेष्ट इन्स्योरेन्समा सबैभन्दा बढी प्रारम्भिक बीमा दावी परेको छ । कम्पनीमा हालसम्म नौ वटा दावी बापत ५० करोड रुपैयाँको बीमा दावी परेको छ ।

त्यस्तै, सगरमाथा लुम्बिनी इन्स्योरेन्समा ५० वटा बीमा वापत ३५ करोड रुपैयाँको प्रारम्भिक बीमा दावी परेको छ । कम्पनीले सक्दो चाँडो बीमा दावी भुक्तानीमा सहजताको लागि उल्लेख्य मात्रामा कर्मचारी र सर्भेयरहरु खटाएको छ । नेको इन्स्योरेन्समा १६ वटा दावी बापत चार करोड ४५ लाख रुपैयाँको प्रारम्भिक बीमा दावी परेको छ ।

सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा भदौ ३० गतेसम्म गण्डकी प्रदेशमा १५ वटा दावी बापत पाँच करोड रुपैयाँको प्रारम्भिक बीमा दावी परेको छ । भदौ ३० गतेसम्मको क्षतिको आधारमा सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीमा सात करोड रुपैयाँको प्रारम्भिक बीमा दावी परेको छ । कम्पनीमा कुल २० वटा बीमा दावी परेका छन् ।

साथै, द ओरियण्टल इन्स्योरेन्समा १३ वटा दावी वापत तीन करोड रुपैयाँ, आइजिआई प्रुडेन्सियल इन्स्योरेन्समा तीन वटा दावी बापत तीन करोड १५ लाख रुपैयाँको बीमा दावी परेको छ । सानिमा जिआईसी इन्स्योरेन्समा ११ वटा दावी बापत दुई करोड रुपैयाँ, युनाइटेड अजोड इन्स्योरेन्समा ६ वटा दावी वापत दुई करोड रुपैयाँ, शिखर इन्स्योरेन्समा ५ वटा दावी बापत ७५ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्समा ६ वटा दावी बापत ८० लाख रुपैयाँको कुल प्रारम्भिक बीमा दावी परेको छ ।

स्रोतः नेपाल बीमा प्राधिकरण

नेपाल माइक्रो इन्स्योरेन्समा पाँच वटा दावी बापत २५ लाख रुपैयाँको बीमा दावी परेको छ । प्राप्त विवरण अनुसार नेपाल इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, नेशनल इन्स्योरेन्स, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स, स्टार माइक्रो इन्स्योरेन्स र ट्रष्ट माइक्रो इन्स्योरेन्समा कुनै पनि बीमा दावी नपरेको बीमा प्राधिकरणले जनाएको छ ।

नेपाल बीमा प्राधिकरणले जेन–जी आन्दोलन पीडितलाई राहत दिन छरितो दावी भुक्तानी प्रक्रियाका लागि सहजिकरण गरेको छ । प्राधिकरणले सक्दो चाँडो विवरण संकलन गरी बीमा दावी भुक्तानी गर्न बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*