दुई महिनामै सरकारको बजेट खर्च ९ प्रतिशतमा सीमित, राजस्व संकलन पनि लक्ष्यभन्दा टाढा

१ आश्विन २०८२, बुधबार १३:५०

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को सुरुआती दुई महिनामा सरकारको खर्चको गति सुस्त देखिएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार भदौ मसान्तसम्ममा कुल बजेट खर्च ९.१७ प्रतिशतमा सीमित भएको छ । यस अवधिमा सरकारको राजस्व सङ्कलन पनि वार्षिक लक्ष्यको १० दशमलव ४३ प्रतिशत मात्र पुगेको छ ।

यस वर्ष १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट ल्याइएकोमा भदौ मसान्तसम्ममा एक खर्ब ८० अर्ब १७ करोड चार लाख रुपैयाँ खर्च भएको छ । चालुतर्फ ११ खर्ब ८० अर्ब ९८ करोड रुपैयाँ विनियोजन भए पनि हालसम्म एक खर्ब १४ अर्ब १८ करोड ७२ लाख रुपैयाँ मात्रै खर्च भएको छ ।

पुँजीगततर्फ खर्च झनै सुस्त छ । चार खर्ब सात अर्ब ८८ करोड ८० लाख रुपैयाँ विनियोजनमध्ये छ अर्ब ३५ करोड ३३ लाख रुपैयाँ मात्रै खर्च भएको छ । त्यस्तै, वित्तीय व्यवस्था शीर्षकमा तीन खर्ब ७५ अर्ब २४ करोड २० लाख रुपैयाँ विनियोजन भए पनि हालसम्म ५९ अर्ब ६२ करोड ९९ लाख रुपैयाँ मात्र खर्च भएको छ ।

राजस्वतर्फ पनि लक्ष्यअनुसार प्रगति हुन सकेको छैन । कूल १५ खर्ब ३३ अर्ब ४४ करोड ६९ लाख रुपैयाँ राजस्व उठाउने लक्ष्य रहेकोमा भदौ मसान्तसम्ममा एक खर्ब ५९ अर्ब ९८ करोड ५३ लाख रुपैयाँ असुली भएको छ । यसमध्ये कर राजस्वतर्फ १३ खर्ब २५ अर्ब ५८ करोड ३९ लाख रुपैयाँ लक्ष्यमा एक खर्ब ५० अर्ब ४० करोड १३ लाख रुपैयाँ (११.३५ प्रतिशत) उठेको छ । गैरकर राजस्वतर्फ भने एक खर्ब ५४ अर्ब ४१ करोड ६१ लाख रुपैयाँको लक्ष्यमा सात अर्ब १३ करोड २१ लाख रुपैयाँ (४.६२ प्रतिशत) मात्रै संकलन भएको छ ।

वैदेशिक अनुदान संकलन पनि कमजोर देखिएको छ । चालु आवमा ५३ अर्ब ४४ करोड ६९ लाख रुपैयाँ बराबरको अनुदान प्राप्त गर्ने लक्ष्य राखिएकोमा हालसम्म दुई दशमलव ३८ प्रतिशत अर्थात् एक अर्ब २७ करोड ३७ लाख रुपैयाँ मात्रै उठेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*