जेन–जी आन्दोलनको दावी भुक्तानीमा अग्रसर निर्जीवन बीमा कम्पनीहरु, दशैं बिदामा पनि सेवा सूचारु

काठमाडौं । गत भदौ २३ गतेदेखि सुरु भएको जेन–जी आन्दोलनको क्षतिमा निर्जीवन बीमा क्षेत्रमा २३ अर्बबढी रुपैयाँको प्रारम्भिक बीमा दावी परेको छ । उक्त ऐतिहासिक बीमा दावी भुक्तानीको लागि नेपाली निर्जीवन बीमा कम्पनीहरु अग्रगामी भुमिकामा रहेका छन् ।
आन्दोलनको अर्बौ रुपैयाँको बीमा दावी भुक्तानीमा सहजीकरण गर्नको लागि निर्जीवन बीमा कम्पनीहरुले नेपालीहरुको महान चाँड ‘दशैं’ मा समेत बीमा सेवा सुचारु गरेको छ । बीमा कम्पनीहरु दावी परेको सुरुवाती समयदेखि नै भुक्तानीमा अग्रसर रहेका छन् ।
नेपालमा सञ्चालित १४ निर्जीवन बीमा कम्पनी र चार लघु निजीवन बीमा कम्पनीहरु सञ्चालनमा रहेका छन् । सो कम्पनीहरुमध्ये अधिकांश कम्पनीहरुले आफ्ना केही शाखा तथा केन्द्रिय कार्यालयहरु खुला गरेर आवश्यकताको आधारमा बीमा सेवा प्रवाह गरीरहेका छन् ।
शिखर इन्स्योरेन्स
शिखर इन्स्योरेन्सले प्रधान कार्यालयका चार जना कर्मचारी र प्रदेश कार्यालयहरूमा प्रदेश कार्यालय प्रमुखलाई दाबीका लागि सम्पर्क गर्न सकिने जानकारी सार्वजनिक सूचनामार्फत गराएको छ।
सगरमाथा लुम्बिनी इन्स्योरेन्स
सगरमाथा लुम्बिनी इन्स्योरेन्सले दशैं बिदामा कार्यालय बन्द रहने भएपनि दाबी सम्बन्धित सेवा लागि कम्पनीको आधिकारिक इमेल [email protected] मार्फत सम्पर्क गर्न सकिने जानकारी दिएको छ। कम्पनीले पनि सबै प्रदेशका लागि सम्पर्क व्यक्ति तोकेको छ।
नेको इन्स्योरेन्स
नेको इन्स्योरेन्स कम्पनीले दशैं बिदाको समयमा अर्थात असोज १३ देखि १५ गतेसम्म प्रदेश कार्यालय र प्रधान कार्यालय खुल्ला रहने जनाएको छ । कम्पनीका अनुसार, प्रदेश कार्यालयबाट बीमालेख सम्बन्धि सेवा र प्रधान कार्यालयबाट दाबी सम्बन्धि सेवा प्रदान गरिनेछ।
आइजीआइ प्रुडेन्सियल
आइजीआइ प्रुडेन्सियलले पनि दशैंको सार्वजनिक बिदाका समयमा पनि बीमा सम्बन्धि सेवाका लागि सम्पर्क गर्न सकिने कर्मचारीहरूको सम्पर्क नम्बर र नाम वेबसाइटमार्फत उपलब्ध गराएको छ।
नेपाल इन्स्योरेन्स
नेपाल इन्स्योरेन्स लिमिटेडले असोज १३ देखि १५ गतेसम्मको सार्वजनिक बिदाको दिन पनि बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म कमलादीस्थित प्रधान कार्यालय खुला रहने जानकारी दिएको छ। साथै बीमा र दाबी सम्बन्धि सेवाका लागि ६ जना कर्मचारीको सम्पर्क मोबाइल नम्बर पनि उपलब्ध गराएको छ।
सिद्धार्थ इन्स्योरेन्स
सिद्धार्थ इन्स्योरेन्सले सातवटै प्रदेशमा प्रदेश प्रमुखहरूलाई सम्पर्क व्यक्तिको जिम्मेवारी तोकेको छ। कम्पनीले बीमा दावी भुक्तानीमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै ५५ करोड रुपैयाँभन्दा बढी बीमा दावी भुक्तानी गरिसकेको छ ।
एनएलजी इन्स्योरेन्स
एनएलजी इन्स्योरेन्सले असोज १३ देखि १८ गतेसम्मका लागि बीमा सेवा वा दाबी सम्बन्धि सेवाका लागि सम्पर्क गर्न सकिने ७ जना कर्मचारीको मोबाइल नम्बर वेबसाइटमा प्रकाशन गरेको छ।
नेपाल बीमा प्राधिकरणले जेन–जी आन्दोलन पीडितलाई राहत दिन छरितो दावी भुक्तानी प्रक्रियाका लागि सहजिकरण गरेको छ । प्राधिकरणले सक्दो चाँडो विवरण संकलन गरी बीमा दावी भुक्तानी गर्न बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ ।
जेन–जी आन्दोलनको बीमा दावी भुक्तानी र रिपोर्ट संकलनको लागि १८ सय बढी सर्भेयरहरु पनि फिल्डमा खटिएका छन् ।













