मनाङ–लमजुङ सडकमा रातिमा सवारीसाधन चलाउन रोक

काठमाडौं । मनसुन अन्त्यको समयमा सक्रिय भएपछि आजदेखि यही असोज २० गतेसम्म ठूलो वर्षा हुने सूचना जारी भएको छ। मौसम विज्ञान विभागले वर्षा हुने सूचना जारी गरेसँगै मनाङ–लमजुङ सडकमा रात्रिकालीन सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।
ठूलो वर्षा भएमा जोखिम बढ्ने भन्दै जिल्ला प्रशासन कार्यालय मनाङले रातिको समयमा यातायात सञ्चालनमा रोक लगाएको हो। जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै सम्भावित बाढीपहिरो र भूस्खलनको जोखिमलाई मध्यनजर गर्दै यातायात व्यवस्थापनमा कडाइ गरिएको जनाएको छ।
निश्चित समयमा मात्र सवारीसाधन सञ्चालन गर्न पाइने र तोकिएको समय बाहिर आवागमन गर्न रोक लगाउने व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालद्वारा जारी सूचनामा उल्लेख छ।
बेलुका ६ः३० देखि बिहान ७ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको प्रजिअ पौड्यालले बताए। प्रशासनले नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय तहका उद्धार टोलीलाई सतर्क अवस्थामा राखिएको तथा तत्काल परिचालन गर्ने गरी आवश्यक व्यवस्था मिलाउन जिल्ला सुरक्षा समितिको बैठकबाट निर्णय गरिएको छ।
‘सम्भावित विपद् व्यवस्थापनका लागि सबै स्थानीय तह र स्थानीय विपद् व्यवस्थापन समिति, सरकारी निकाय, निजी क्षेत्र र गैह्र सरकारी संस्थाले स्वीकृत मनसुनकार्य योजनाअनुरुप आवश्यक पूर्वतयारी र प्रतिकार्यका लागि आ–आफ्नो विषयमा क्षेत्रगत तयारीमा रहन प्रशासनले अनुरोध गरेको छ’, प्रजिअ पौड्यालले भने।













