राजधानी उपत्यकासहित अधिकांश क्षेत्र बाढीको चपेटामा, सरकारको पूर्व तयारीले धेरैको ज्यान जोगियो

१९ आश्विन २०८२, आईतवार ०६:२७

काठमाडौं । यस पटकको भिषण बाढीले राजधानी काठमाडौं उपत्यकाका तीन वटै जिल्लाहरु सहित देशका अधिकांश जिल्लाहरु प्रभावित भएका छन् । सुदुर पश्चिम र मध्य पश्चिम क्षेत्र बाहेकका अधिकांश क्षेत्रहरुमा बाढीले व्यापक क्षति पुर्याएको छ । यद्यपि सरकारको व्यापक पूर्व तयारी र आम जनतालाई सजगता अपनाउन गरिएको आग्रहका कारण ठूलो धनजनको क्षति हुनबाट भने जोगिएको छ ।

देशका अधिकांश सडक सञ्जालहरु अबरुद्ध हुन पुगेको छ । प्रहरीका अनुसार स्थानीय क्षेत्रमा चलेका बाहेकका अन्य सडकहरुमा यातायात सञ्चालन हुन सकिरहेको छैन । काठमाडौं प्रवेश गर्ने सबै नाकाहरु अबरुद्ध हुन पुगेका छन् ।

राजधानी काठमाडौं उपत्यका प्रवेश गर्ने नुवाकोट तर्फको सडक, काभ्रे तर्फबाट आउने सडक, धादिङतर्फबाट आउने त्रिभुवन राजपथ समेत अबरुद्ध अवस्थामा रहेका छन् । पहिरोका कारण सडकको अवस्था दयनीय हुन पुगेको छ । काभ्रेबाट काठमाडौं आउने सागामा पहिरो गएर सडक अबरुद्ध हुन पुगेको छ ।

गएराति रातै भरि पानी परेकोले सडकमा गएका पहिरोहरु पन्छाउन कठिन भइरहेको छ । आज विहानबाट पानी केही कम भएकोले आज दिउसोबाट केही सडकहरु आंशिक रुपमा सुचारु हुनसक्ने देखिएको छ ।

उता, सरकारले व्यापक पूर्व तयारी तथा बाढी आउनुपूर्व नै व्यापकर प्रचार प्रसार गरी जनतालाई सचेत रहन आग्रह गरिएकोले यस बर्षको बाढीमा ठूलो धनजनको क्षति हुनबाट जोगिएको छ । प्रधानमन्त्री सुशिला कार्कीले हिजो भिडियो सन्देश दिँदै आम जनतालाई केही दिन धैर्य गर्न आग्रह गर्दै सुरक्षित रहन सूचित गरेकी थिईन् । उता, गृहमन्त्रालयले अहिलेसम्मकै प्रभावकारी भूमिका खेल्न सफल भएको छ । सम्भावित पहिरो र बाढी सुरु हुनपूर्व नै सुरक्षित स्थानमा सवारी साधनहरुलाई रोकेर जनताको जीउधनको सुरक्षामा कुनै कसर बाँकी नराखी काम गरेको छ । जसको परिणाम आज विहानसम्म बाढीबाट कसैको पनि ज्यान गएको दुखद खवर सुन्नु परेको छैन ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*