नेपालमा एवोन युटी ईभी सार्वजनिक हुँदै, अटो बजारमा नयाँ स्टाइल र स्मार्टनेस

काठमाडौं । नेपाली बजारमा चाँडै नयाँ स्टाइलिस र इन्टेलिजेन्ट ‘अर्बन ईभी’ सार्वजनिक हुँदैछ । नेपालका लागि आधिकारिक वितरक सीजी मोटर्सले जीएसी एवोन युटी ईभी भित्र्याउने तयारी गरेको हो । कम्पनीले यो गाडीलाई नयाँ पुस्ताका सहरमा चल्ने स्मार्ट, आधुनिक र आकर्षक इलेक्ट्रिक ह्याचब्याकका रूपमा प्रस्तुत गर्न लागेको छ ।
गत भदौ महिनामा सम्पन्न नाडा अटो शो २०२५ मा सार्वजनिक गर्ने तयारी भए पनि चीन र नेपालको सिमानामा आएको प्राकृतिक प्रकोपका कारण यसको आगमनमा केही ढिलाइ भएको हो ।
कम्पनीले जीएसी एवोन युटीलाई ‘स्टाइलिस र इन्टेलिजेन्ट नेक्स्ट–जेन अर्बन ईभी क्रसओभर’को रुपमा परिभाषित गरेको छ । यसको बाहिरी बनावट निकै अद्वितीय छ, जसले सडकमा अलग पहिचान दिन्छ । विश्वमै पहिलो पटक प्रयोग गरिएको ‘आईब्रो’ शैलीको हेडलाइट यसको विशेष आकर्षण हो । त्यस्तै, पछाडिको भागमा मिलानको आर्टिस्टिक ट्रेन्डबाट प्रेरित स्लिक फास्टब्याक डिजाइन र प्लेफुल पिक्सेल ग्राफिक लाइटले यसलाई अझै स्टाइलिस बनाएको छ । साइड प्रोफाइलमा देखिने बोल्ड कन्ट्रास्ट डिजाइनले यसलाई युवा र आधुनिक सौन्दर्य दिएको छ ।
भित्री भागमा पनि एवोन युटी ईभी बराबर आकर्षक छ । यसको सफ्ट र फराकिलो इन्टेरियर, २,७५० एमएमको एक्स्ट्रा लङ ह्विलबेस, फुल्ली फ्ल्याट फोल्डेबल सिट र मल्टिलेयर ट्रंक डिजाइनले यात्रुका लागि सहज र आरामदायी अनुभव प्रदान गर्छ । गाडीको लम्बाइ ४,२७० एमएम, चौडाइ १,८५० एमएम र उचाइ १,५७५ एमएम रहेको छ भने यसमा १७ इन्चका अलोय ह्विल जडान गरिएको छ ।
यसमा भएको एड्भान्स्ड क्लाइमेट सिस्टमले यात्राको अनुभवलाई अझ सन्तोषजनक बनाउँछ । ड्युअल लेयर एयर कन्डिसनिङ र हिट पम्प क्षमतासहितको यो सिस्टमले ३० मिनेटमा ३० डिग्रीले तापक्रम घटाउन र २० मिनेटमै ४० डिग्रीले बढाउन सक्छ । त्यस्तै, १४.६ इन्चको ठूलो टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम र ८.८ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टरले भविष्यवादी अनुभूति प्रदान गर्छ ।
पावरको दृष्टिले पनि यो गाडी उत्कृष्ट छ । यसमा ४४ किलोवाट–आवर क्षमताको एलएफपि ब्याट्री जडान गरिएको छ, जसले कडा सुरक्षा मापदण्ड अन्तर्गत ‘नेल पेनेट्रेसन टेस्ट’ सफलतापूर्वक पार गरेको छ । सिंगल चार्जमा ३४० किलोमिटर रेन्ज दिने यो ब्याट्रीलाई २४ मिनेटमै ३० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ । गाडीमा ९९ किलोवाट क्षमताको इलेक्ट्रिक मोटर प्रयोग गरिएको छ, जसले सहरमा शक्तिशाली र स्मूथ ड्राइभिङ अनुभव प्रदान गर्छ ।
जीएसी एवोन युटी ईभीको मूल्य नेपाली बजारमा करिब ३५ लाख रुपैयाँ हुने अनुमान गरिएको छ ।













