मनाङ प्रदेशसभा–२ को उपनिर्वाचन स्थगित

काठमाडौं । निर्वाचन आयोगले आगामी कात्तिक १७ गतेका लागि तोकेको मनाङ प्रदेशसभा २ को उपनिर्वाचनका सम्पूर्ण कार्यक्रम स्थगन गरेको छ । आयोगको यही असोज १९ गतेको निर्णयअनुसार पूर्वप्रकाशित निर्वाचन कार्यक्रम बमोजिमका सम्पूर्ण कार्य हाललाई स्थगन गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
निर्वाचन आयोग ऐन, २०७३ तथा प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ बमोजिम कात्तिक १७ का लागि तोकिएको उपनिर्वाचन गत भदौ २३ गतेदेखि भएको आन्दोलनका कारण स्थानीय प्रशासनबाट ‘कर्फ्यु’ आदेश जारी भई पूर्वनिर्धारित निर्वाचन कार्यतालिका बमोजिमका कार्यक्रम कार्यान्वयनमा समेत असर परेकाले अर्को निर्वाचन कार्यक्रमपछि प्रकाशन गर्नेगरी स्थगन गरिएको विज्ञप्तिमा जनाइएको छ ।
आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहितका आयुक्तले आइतबार नेपाल सरकारका अर्थमन्त्री रामेश्वरप्रसाद खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, कानून, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हालगायतसँग आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको तयारीका विषयमा छलफल गरेका थिए ।
छलफलमा आयोगले आफ्नो तयारी र कामकारबाहीबारे अवगत गराएको थियो भने सरकारका तर्फबाट निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित र मितव्ययी रूपमा सम्पन्न गर्ने विषयमा आवश्यक पर्ने स्रोतसाधन, शान्तिसुरक्षाको भरपर्दो व्यवस्थासहितको सहयोग उपलब्ध हुने प्रतिबद्धता व्यक्त गरेका थिए ।













