विपद् व्यवस्थापन परिषद् बैठक आज बस्दै, राहत र पुनर्निर्माणका ९ प्रस्तावमाथि छलफल हुने

२१ आश्विन २०८२, मंगलवार ०८:११

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक आज बिहान साढे ११ बजे प्रधानमन्त्री कार्यालयमा बस्दैछ। बैठकमा हालैको बाढी र पहिरोबाट उत्पन्न मानवीय तथा भौतिक क्षतिको समीक्षा गर्दै राहत वितरण र पुनर्निर्माणका विषयमा छलफल हुनेछ।

बैठकका लागि नौ वटा एजेन्डा तय गरिएको छ। तीमध्ये प्रभावित परिवारलाई राहत उपलब्ध गराउने, अवरुद्ध सडक तथा सेवाहरू सञ्चालनमा ल्याउने, अस्थायी बासस्थान निर्माण गर्ने र महामारीजन्य रोग नियन्त्रण गर्ने विषय प्रमुख छन्।

बैठकमा बाढीपहिरोमा ज्यान गुमाएका र बेपत्ता भएका व्यक्तिहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनीहरूको परिवारलाई कानुनअनुसार राहत प्रदान गर्ने विषयमा पनि छलफल हुनेछ।

असोज १६ र १९ गतेको अविरल वर्षाका कारण आएको बाढीपहिरोले देशभर कम्तीमा ६० जनाको ज्यान लिएको छ। इलाम जिल्लामा सबैभन्दा बढी मानवीय क्षति भएको छ। सडक, पुल, जलविद्युत् आयोजना लगायतका संरचनामा समेत करोडौं रुपैयाँ बराबरको क्षति पुगेको छ।

बैठकमा अर्थ, गृह, ऊर्जा, उद्योग, शिक्षा, कृषि र सञ्चार मन्त्रीहरूका साथै सातै प्रदेशका मुख्यमन्त्रीहरू सहभागी हुनेछन्। साथै पूर्वमन्त्री डा. गंगालाल तुलाधर, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, मुख्य सचिव, प्रधानसेनापति र गृहमन्त्रालयका सचिव पनि परिषद् बैठकमा उपस्थित रहनेछन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*