भगवती स्टिलमा व्यवस्थापनले नै लगाए ताला, बोनस विवादले १७० मजदुर सडकमा

२१ आश्विन २०८२, मंगलवार १९:२५

काठमाडौँ । पथलैया औद्योगिक करिडोरमा अवस्थित भगवती स्टिल इण्डष्ट्रिजमा उत्पन्न विवादले उद्योग नै ठप्प बनेको छ। दशैंपछि उद्योग सञ्चालनमा आउनुपर्ने समयमा सञ्चालक पक्षले आफैंले तालाबन्दी गरेपछि करिब १७० मजदुर आक्रोशित बनेका छन्।

जितपुर सिमरा उपमहानगरपालिका–१६ नितनपुरमा रहेको यो उद्योगमा दशैंका बेला मजदुरहरुलाई बोनस वितरण नगरेपछि विवाद सुरु भएको हो। हरेक वर्ष दशैंअघि बोनस वितरण गर्दै आएको उद्योग प्रशासनले यसपटक विभिन्न कारण देखाउँदै बोनस नदिएपछि मजदुरहरू विरोधमा उत्रिएका थिए। दशैं बिदा सकेर असोज १७ गते काम गर्न पुगेका मजदुरले उद्योगको गेटमा ताल्चा झुण्डिएको देखे। प्रवेशद्वारमा ‘अगामी सूचना नआएसम्म उद्योग बन्द रहनेछ’ भन्ने सूचना टाँसिएको थियो।

मजदुरका अनुसार, हरेक वर्ष दशैंमा सेवा अवधि र तहअनुसार ५० हजारदेखि ७० हजार रुपैयाँसम्म बोनस दिने परम्परा थियो। तर, यो वर्ष उद्योग प्रशासनले बोनस मात्र रोकेन, बिदापछि काममा फर्किन पुगेका मजदुरलाई गेटमै रोक्ने निर्णय गर्‍यो। यसले मजदुरहरूमा असन्तोष फैलिएको छ। उनीहरूले तालाबन्दी खुलाउन र बोनस वितरण गर्न माग गर्दै आन्दोलन सुरु गरेका छन्।

उद्योग व्यवस्थापन पक्षले भने आर्थिक संकटकै कारण तालाबन्दी गर्न बाध्य भएको दाबी गरेको छ।  व्यवस्थापनका अनुसार बोनसका लागि मात्रै करिब ९० लाख रुपैयाँ आवश्यक पर्छ भने नयाँ न्यूनतम पारिश्रमिकअनुसार तलब वितरण गर्न ७६ लाख रुपैयाँभन्दा बढी खर्च हुन्छ। अन्य सुविधा, सामाजिक सुरक्षा कोष र ओभरटाइमसमेत गणना गर्दा झण्डै दुई करोड रुपैयाँ बराबरको आर्थिक बोझ पर्ने देखिएको उनीहरूको दाबी छ।उद्योगले मजदुरहरूमा सहयोगी भावना अपेक्षा गरेको बताएको छ।

तर मजदुर पक्षले यो दाबी अस्वीकार गर्दै उद्योगले आफूहरूका हक अधिकार मिचेको आरोप लगाएका छन्। उनीहरूका अनुसार दशैंमा बोनस नदिनु र बिदापछि ताल्चा लगाउनु मजदुरमाथिको अन्याय हो।  श्रम ऐनअनुसार उद्योगहरूले वर्षमा १३ दिनसम्म मात्र बिदा दिन पाउने व्यवस्था छ। तर भगवती स्टिलका मजदुरले १४ दिनसम्म बिदा लिएको भन्दै व्यवस्थापनले यसलाई पनि असन्तुष्टिको कारणका रूपमा प्रस्तुत गरेको छ। उद्योगले बिदा बढी लिने, उत्पादन घट्ने र बजारमा माग घट्दै जाने अवस्थाले पनि आर्थिक पक्ष कमजोर बनाएको बताएको छ।

वि.सं. २०४७ सालमा स्थापना भएको भगवती स्टिल इण्डष्ट्रिज वीरगन्ज–पथलैया औद्योगिक करिडोरभित्रका पुराना र चर्चित उद्योगमध्ये एक हो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*