सरकारको उच्च प्राथमिकता नै अवरुद्ध सडक खुलाउनु रहेको छः मन्त्री घिसिङ

२२ आश्विन २०८२, बुधबार ११:२५

काठमाडौं । सरकारले हालैको बाढीपहिरोबाट क्षतिग्रस्त सडक संरचना पुनर्निर्माण गर्न १२ अर्ब ३८ करोड रुपैयाँ लाग्ने जनाउँदै अवरुद्ध सडक सञ्चालनलाई पहिलो प्राथमिकता दिएको बताएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार मनसुनजन्य विपद्बाट क्षतिग्रस्त मुख्य राजमार्ग, वैकल्पिक सडक, बेलिब्रिज र स्थायी पुल पुनर्निर्माणका लागि १० अर्ब ६८ करोड लाग्ने अनुमान गरिएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले बाढी पहिरोबाट क्षति पुगेर अवरुद्ध भएका सडक सञ्चालनलाई पहिलो प्राथमिकतामा राखेर मातहतका निकायले काम गरिरहेका बताए । यथाशक्य चाँडो अवरुद्ध सडक सञ्चालन गर्न उपकरणसहितका जनशक्ति परिचालन गरिएको उनले बताए ।

हालैको बाढीबाट मेची राजमार्गमा अधिक क्षति भएको छ । यो राजमार्गको पुनर्निर्माणका लागि रु एक अर्ब ५० करोड आवश्यक पर्ने अनुमान गरिएको छ । त्यसैगरी, क्षतिग्रस्त कोशी, मध्यपहाडी, हुलाकी, अरनिको, कान्ति, नारायणघाट—मुग्लिङलगायत राजमार्ग पुनःनिर्माण गर्न तीन अर्ब ७७ करोड लाग्ने सरकारको अनुमान छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*