घृणायुक्त अभिव्यक्ति रोक्न मानव अधिकार आयोगको चेतावनी

२२ आश्विन २०८२, बुधबार १२:२६

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले हाल देशमा विकसित राजनीतिक घटनाक्रम र विभिन्न समूहहरूद्वारा घोषणा गरिएका आगामी प्रदर्शनहरूलाई दृष्टिगत गर्दै सबै पक्षलाई संयमित रहन र घृणायुक्त अभिव्यक्ति रोक्न चेतावनी दिएको छ।

आयोगले विज्ञप्ति जारी गर्दै भदौ २३ र २४ गते भएका हिंसात्मक कार्य र आगजनीका घटनाहरूबाट मानव अधिकार उल्लंघन भएको भन्दै त्यसको अनुसन्धानलाई तीव्रता दिइरहेको जनाएको छ। साथै वर्तमान राजनीतिक परिस्थितिको अनुगमन र सम्बन्धित निकायहरूबाट तथ्य विवरण संकलन कार्य निरन्तर भइरहेको पनि जनाएको छ।

हिंसात्मक गतिविधि, घृणायुक्त अभिव्यक्ति र अरूप्रति लक्षित नकारात्मक टिप्पणीहरूले सामाजिक सद्भाव र राजनीतिक वातावरण दुवैमा प्रतिकूल असर पार्ने चेतावनी आयोगले दिएको छ। राज्यका निकायहरूले विधिको शासन, सामाजिक सद्भाव र सार्वजनिक सम्पत्तिको सुरक्षा सुनिश्चित गर्दै स्वच्छ राजनीतिक प्रतिस्पर्धामार्फत संक्रमणकालीन अवस्थाबाट निकास दिनुपर्ने आयोगको भनाइ छ।

आयोगले नेपाल सरकारलाई सुरक्षा निकायको मनोबल उच्च राखी संयमित र धैर्यतापूर्वक आवश्यक कदम चाल्न निर्देशन दिएको छ। साथै राजनीतिक दल र समूहहरूलाई मर्यादित रूपमा प्रदर्शन गर्न, घृणायुक्त अभिव्यक्ति रोक्न र राजनीतिक निकासको प्रक्रियामा सकारात्मक सहभागिता जनाउन आग्रह गरेको छ।

आयोगले नागरिक समाज, सञ्चारकर्मी तथा मानव अधिकार समुदायलाई पनि सामाजिक सद्भाव र शान्ति सुरक्षाको संरक्षणमा सक्रिय भूमिका खेल्न अपिल गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*