हरियो फर्सी, घिरौला र काक्रोमा अत्यधिक विषादी प्रयोग, उपभोक्ताको स्वास्थ्यसँग गम्भिर खेलवाड

काठमाडौं । काठमाडौंमा भित्रिने हरियो तरकारीमा फेरी अत्यधिक परिमाणमा विषादीको मात्रा पाइएको छ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिमा बिहीबार भित्रिएको हरियो फर्सी, घिरौला र काक्रोमा अत्यधिक परिमाणमा विषादीको मात्रा पाइएको हो ।
केन्द्रीय कृषि प्रयोगशाला हरिहरभवनको इकाइले बिहीबार उक्त बजारमा भित्रिएको हरियो फर्सीमा ४५.५९८, घिरौलामा ६५.०३० र काक्रोमा ५२.९२१ प्रतिशतको हाराहारीमा घातक विषादी अर्गानोफस्फेटको मात्रा पाइएको थियो ।
सरकारको फितलो नियमनका कारणले उक्त तरकारीहरु प्रयोग गर्ने उपभोक्ताहरुको स्वास्थ्यमा गम्भिर खेलवाड भएको भन्दै नागरिकहरुले सामाजिक सञ्चालमा चर्को विरोध गरेका छन् । बेमौसमी तरकारीहरु उत्पादन गर्ने संस्था तथा किसानहरुले विषादीको उच्च प्रयोग गर्ने गरेका छन् ।
भारतबाट अधिकांश फलफुल तथा तरकारी नेपालमा आयात हुने गरेको छ । जसमा नेपाली किसानहरु मार्कामा पर्ने गरेका छन् । तर, पनि उपभोक्ताहरुले महङ्गोमा खरिद गरेका तरकारी समेत खान अयोग्य भएपछि नागरिक आक्रोशित बनेका छन् ।
४५ प्रतिशतभन्दा बढी विषादीको मात्रा पाइएका तरकारी नष्ट गर्नुपर्ने सरकारको नीति छ । यसअघि पनि बजारमा आएको तरकारीमा पटक पटक उच्च परिमाणमा विषादीको मात्रा पाइएको थियो ।













