जुवातास खेलिरहेको अवस्थामा २० जना पक्राउ, १४ लाख रुपैयाँ बरामद

काठमाडौं । नेपाल प्रहरीले बाँके र दैलेखमा जुवातास खेलिरहेको अवस्थामा २० जनालाई पक्राउ गरेको छ भने जुवाखालबाट १४ लाख रुपैयाँ बरामद गरेको छ।
प्रहरीले बाँकेको नेपालगंज उपमहानगरपालिका–२ बाईपास रोडस्थित मौरी रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा रेष्टुरेन्टका सञ्चालक विज्ञान श्रेष्ठसहित १४ जनालाई बुधबार राति पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीको टोलीले उक्त जुवाखालबाट १३ लाख ६३ हजार ८०० रुपैयाँ र ८ बुक तास बरामद गरेको छ।
त्यसैगरी दैलेखको नारायण नगरपालिका–१ दैलेख बजार डेरा गरी बस्ने टोपबहादुर राना मगरको कोठामा जुवातास खेलिरहेको अवस्थामा टोप बहादुर सहित ६ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय दैलेखबाट खटिएर गएको प्रहरीको टोलीले त्यस जुवाखालबाट ४० हजार ८४० रुपैयाँ बरामद गरेको छ। साथै यस सम्बन्धमा थप आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ।













