ठेक्काको सूचना लुकाएर भ्रष्टाचारः तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सहित ३ जना विरुद्ध मुद्दा

काठमाडौं । रौतहटको माधव नारायण नगरपालिका वडा नम्बर ३ स्थित देवि माध्यमिक विद्यालय सखुअर्वामा भवन बनाउँठा ठेक्काको सूचना लुकाएर भ्रष्टाचार गरेको आरोपमा भ्रष्टाचारको मुद्दा दर्ता भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रलब कायस्थ, लेखापाल रामबलम प्रसाद यादव, ठेकेदार कम्पनी रौतहट एडभरटाइजिङ्ग एजेन्सी प्रा.लि र सोका सञ्चालक अजित कुमार कर्ण विरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो।
अख्तियारका अनुसार उक्त भवन निर्माणका लागि ठेक्काको बोलपत्र राष्ट्रिय स्तरको दैनिक पत्रिकामा प्रकाशित गर्नु पर्नेमा त्यसो नगरी सूचना लुकाएर ठेकेदारसँग मिलेमतो गरी ठेक्का दिएको पाइएको छ।
उक्त ठेक्काको अभिलेख राख्न सिटी पोष्ट दैनिकमा पत्रिका जस्तो देखिने सिमित प्रति प्रकाशित गरी नगरपालिकामा पेश गरेको तर उक्त सूचनाको पीडीएफ अभिलेख नभएको पाइएपछि अख्तियारले मुद्दा चलाएको हो।
अख्तियारको अनुसन्धानमा सूचना लुकाएर ठेकेदारसँग मिलेर झुट्टा बिल भरपाईको आधारमा २ लाख ५७ हजार ९७० रुपैयाँ भुक्तानी गरी भ्रष्टाचार गरेको पुष्टि भएपछि मुद्दा दर्ता गरिएको हो। उनीहरूलाई भ्रष्टाचार बराबरको बिगो कायम गरिएको छ।











