सिद्धार्थ बैंकभित्र करोडौं भ्रष्टाचार !, लगानीकर्ताको अर्बौ रुपैयाँमाथि खेलवाड

काठमाडौं । सर्वसाधारणको अर्बौ रुपैयाँ लगानी र जनताको खर्बभन्दा बढि निक्षेप रहेको सिद्धार्थ बैंकभित्र भ्रष्टाचार र बेथितीले सीमा नाघ्न थालेको छ ।
बैंकलाई स्वतन्त्र र निष्पक्ष रुपमा सञ्चालन गर्ने भन्दा पनि व्यापारिक घरानाको इच्छा र चाहनामा जथाभावी खर्च गर्ने प्रवृत्तिका कारण सिद्धार्थ बैंकका लगानीकर्ताहरुको अर्बौ रुपैयाँ स्वाहा हुन पुगेको छ । बैंकभित्रको भ्रष्टाचारको कारण सर्वसाधारण समेतको अर्बौ लगानी रहेको बैंकले अपेक्षित मुनाफा आर्जन गर्न नसकेको शेयर लगानीकर्ताहरुको गुनासो छ ।
बैंकले गत आवमा आर्जित मुनाफाबाट १०.५३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ । बैंकभित्रको भ्रष्टाचार कम गर्न सकेको भए अझै मुनाफा बृद्धि हुनसक्ने अवस्था थियो ।
बैंकमा सिईओ सुन्दर प्रसाद कँडेलले संस्थापक सञ्चालकहरुलाई रिझाउन उनीहरुका लागि महंगा र ठूला खेलहरु प्रायोजन गर्नेदेखि अनावश्यक बैठक भत्ता, घरासयी सामानहरु उपहार तथा दशैं तिहारमा रक्सी उपहार समेत दिने गरेको पाइएको छ ।
गत वर्ष नेपाल प्रिमियर लिग एनपिएल क्रिकेट खेलका लागि बैंकले करिब १० करोड रुपैयाँ भुक्तानी गरेको स्रोतको दावी छ । बीमापोष्टले सूचनाको हक अन्तर्गत गत वर्ष एनपिएल क्रिकेट खेलमा गरिएको भुक्तानी रकमबारे जानकारी माग गर्दा समेत गोप्य सम्झौता भन्दै दिन मानेको छैन । बैंकका सूचना अधिकारी सामेश्वर प्रसाद बस्यालले एनपिएल सँगको सम्झौता गोप्य रहने २०८२ भदौं २७ गते लिखित जानकारी नै दिएका छन् ।

तस्विर स्रोत कान्तिपुर
बैंकका सूचना अधिकारी बस्यालले एनपिएलबारे कुनै जवाफ दिन नसक्ने जनाएका छन् । सार्वजनिक कम्पनीले बैंकका मुख्य लगानीकर्ता व्यापारिक घराना केडिया ग्रुपका मालिक मनोज केडियालाई खुशी पार्न उक्त खेल प्रयोजन गरेको थियो । बैंकका बजार प्रबद्र्धक बिजेन्द्र तुलाधरले एक सन्दर्भमा बीमापोष्टसँग कुराकानीको क्रममा बैंकले गरेको खर्च र ब्राण्डिङको तुलनामा लाभदायक नभएको गुनासो गरेका थिए ।
बैंकभित्र बढ्दो भ्रष्टाचार र एनपिएलको प्रायोजनको सन्दर्भमा जिज्ञाशा राख्न खोज्दा सिईओ कँडेलले कुनै प्रतिक्रिया दिन चाहेनन् ।













