स्रोत नखुलेको ८ लाख रुपैयाँसहित एकजना पक्राउ
२७ आश्विन २०८२, सोमबार १३:४२

काठमाडौं । नेपाल प्रहरीले सिराहामा स्रोत नखुलेको ८ लाख २५ हजार रुपैयाँ सहित एकजनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा कल्याणपुर नगरपालिका वडा नम्बर १ बनिनिया बस्ने ३० वर्ष उमेरको राशिन्द्र मण्डल रहेका छन्। उनलाई प्रहरीको टोलीले सिरहा नगरपालिका वडा नम्बर २० लकडिगदियानीबाट आइतबार पक्राउ गरेको हो।
उनी मधेश प्रदेश ०२–०१–००३ प २१०२ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका थिए। सो क्रममा प्रहरी चौकी लकडिगदियानीबाट खटिएको नेपाल प्रहरीको टोलीले खानतलासी गर्दा उक्त नगद फेला पारेको हो।
उक्त मोटरसाइकल उनी आफैंले चलाएर ल्याउँदै गरेका थिए। उनलाई नियन्त्रणमा लिएर थप आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।













