अर्थतन्त्रको वित्तीय तस्वीर: मुद्रास्फीति नियन्त्रण, रेमिट्यान्स वृद्धि र सुदृढ विदेशी भण्डारण, कुन सूचक कति मजबूत ?

२८ आश्विन २०८२, मंगलवार १९:४७

काठमाडौँ । आर्थिक वर्ष २०८२/८३ को दोस्रो महिनासम्म देशको समग्र आर्थिक तथा वित्तीय स्थिति स्थिर र सन्तुलित देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कले मुद्रास्फीति नियन्त्रणमा रहँदै अर्थतन्त्र बलियो दिशातर्फ अग्रसर भएको चित्र प्रस्तुत गरेको हो ।

वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति १.८७ प्रतिशत मात्र रहेकाले बजारमा मूल्यवृद्धि दबाब न्यून देखिन्छ, जसले उपभोग र लगानीका क्षेत्रमा सकारात्मक वातावरण सिर्जना गरेको छ । मूल्य स्थिरताले उपभोक्ताको क्रयशक्ति कायम रहनुका साथै व्यवसायिक वातावरणमा विश्वसनीयता थपिएको छ ।

देशको विदेशी मुद्रा सञ्चिति समेत सुदृढ अवस्थामा रहेको छ । कुल विदेशी विनिमय सञ्चिति करिब २८ खर्ब ८१ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ, जुन अमेरिकी डलरमा करिब २० अर्ब ४१ करोड बराबर हो । यो सञ्चिति १६ महिनासम्मका वस्तु तथा सेवा आयातका लागि पर्याप्त रहेको तथ्याङ्कले जनाउँछ । विदेशी भण्डारणको यो स्थायित्वले मुलुकको भुक्तानी सन्तुलन सुधार गरेको छ भने बाह्य क्षेत्रमा वित्तीय जोखिम घटाएको छ ।

चालु खाता र शोधनान्तर दुवै बचतमा रहनु देशको आर्थिक व्यवस्थापन सन्तुलित र विवेकपूर्ण रूपमा सञ्चालन भइरहेको स्पष्ट संकेत हो ।

विदेशमा रहेका नेपाली कामदारबाट प्राप्त हुने विप्रेषण आयमा समेत उल्लेखनीय सुधार देखिएको छ । बैंकिङ प्रणालीमा पनि स्थायित्व र सन्तुलन देखिएको छ । बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप परिचालन र निजी क्षेत्रलाई प्रवाहित कर्जामा क्रमिक वृद्धि देखिएको छ, जसले लगानी विस्तार र उत्पादनशील क्षेत्रमा पूँजी प्रवाह भइरहेको जनाउँछ । ब्याजदरमा देखिएको स्थिरता तथा कम मुद्रास्फीतिले बजारमा लगानीको वातावरण अझ सहज बनाएको छ । समग्रमा हेर्दा, मूल्य स्थिरता, बढ्दो विप्रेषण, मजबुत विदेशी मुद्रा सञ्चिति र स्थिर वित्तीय प्रणालीले नेपालको अर्थतन्त्र सन्तुलित, सक्षम र सकारात्मक दिशातर्फ अघि बढिरहेको स्पष्ट सन्देश दिएको छ ।

दुई महिनामा रेमिट्यान्स ३३.१ प्रतिशतले वृद्धि, ३ खर्ब ५२ अर्ब पुग्यो

चालु आर्थिक वर्ष २०८२/८३ का पहिलो दुई महिनामा विप्रेषण आप्रवाह उल्लेखनीय रूपमा बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार यस अवधिमा विप्रेषण आप्रवाह ३३.१ प्रतिशतले वृद्धि भई कुल ३ खर्ब ५२ अर्ब ८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण १५.८ प्रतिशतले मात्र बढेको थियो । चालु वर्षको भदौ महिनामा मात्रै १ खर्ब ७४ अर्ब ६७ करोड विप्रेषण भित्रिएको छ, जुन अघिल्लो वर्षको सोही महिनाको १ खर्ब २७ अर्ब ९९ करोडको तुलनामा उल्लेखनीय वृद्धि हो ।

अमेरिकी डलरमा हिसाब गर्दा पनि विप्रेषण आप्रवाहमा सशक्त वृद्धि देखिएको छ। समीक्षा अवधिमा डलरमा विप्रेषण २७.६ प्रतिशतले बढेर २ अर्ब ५२ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यो वृद्धि दर १४.२ प्रतिशत मात्र रहेको थियो। यससँगै समीक्षा अवधिमा कुल खुद द्वितीय आय (खुद ट्रान्सफर) पनि बढेर ३ खर्ब ८४ अर्ब ८८ करोड पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको २ खर्ब ८७ अर्ब ७६ करोडभन्दा धेरै हो ।

यस अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत नयाँ) लिने नेपालीहरूको सङ्ख्या ९० हजार १९८ पुगेको छ भने पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ४५ हजार ८८४ रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा नयाँ स्वीकृति लिनेको सङ्ख्या ७६ हजार ४८५ र पुनः स्वीकृति लिनेको सङ्ख्या ४० हजार ५८३ मात्र थियो ।

चालु खाता १ खर्ब ३० अर्ब ६९ करोड बचतमा, शोधनान्तर स्थिति पनि सुदृढ

देशको चालु खाता उल्लेखनीय रूपमा सुधारिएको छ । चालु खाता १ खर्ब ३० अर्ब ६९ करोडले बचतमा रहेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको ५४ अर्ब ४१ करोडको बचतभन्दा दोब्बरभन्दा बढी हो । अमेरिकी डलरमा पनि यो स्थिति सुदृढ हुँदै गएको छ । अघिल्लो वर्षको सोही अवधिमा ४१ करोड डलरले बचतमा रहेको चालु खाता यस वर्षको सोही अवधिमा ९३ करोड डलरले बचतमा पुगेको छ ।

खुद पुँजीगत ट्रान्सफर र प्रत्यक्ष वैदेशिक लगानीमा भने केही मिश्रित अवस्था देखिएको छ। समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर २ अर्ब २० करोड पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको १ अर्ब २० करोडभन्दा उल्लेखनीय वृद्धि हो। तर, प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) भने घटेर १ अर्ब २७ करोडमा सीमित भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यो लगानी २ अर्ब ७१ करोड रहेको थियो जसले वैदेशिक लगानी प्रवाहमा केही मन्दी आएको संकेत दिएको छ ।

शोधनान्तर स्थिति पनि यस अवधिमा सुदृढ रूपमा बचतमा रहेको देखिन्छ । समीक्षा अवधिमा शोधनान्तर स्थिति १ खर्ब ५३ अर्ब ६८ करोडले बचतमा रहेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको १ खर्ब १ अर्ब ७७ करोडभन्दा उल्लेखनीय वृद्धि हो । अमेरिकी डलरमा हिसाब गर्दा पनि अघिल्लो वर्षको ७६ करोड डलरको बचत यो वर्ष बढेर १ अर्ब १० करोड डलर पुगेको छ। यो वृद्धि नेपालमा बढ्दो विप्रेषण आप्रवाह, घट्दो आयात र स्थिर मौद्रिक नीतिको प्रभावका रूपमा देखिएको छ ।

भदौ महिनामा महँगी दर घटेर १.८७ प्रतिशतमा सीमित

तथ्यांकअनुसार २०८२ भदौ महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति १.८७ प्रतिशतमा झरेको छ । अघिल्लो वर्षको सोही महिनामा मुद्रास्फीति ३.८६ प्रतिशत रहेको थियो ।समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति १.३४ प्रतिशतले ऋणात्मक देखिएको छ भने गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.७० प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यी समूहहरूको मुद्रास्फीति क्रमशः ५.०६ प्रतिशत र ३.१९ प्रतिशत रहेको थियो ।

खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेल उप–समूहको मूल्य ११.०९ प्रतिशतले बढेको छ भने गैर–मदिराजन्य पेय पदार्थ ३.९७ प्रतिशत र दुग्ध पदार्थ तथा अण्डा २.६६ प्रतिशतले महँगिएका छन्। तर, तरकारी उप–समूहको मूल्य १२.७४ प्रतिशत, मरमसला ६.३१ प्रतिशत र दाल तथा गेडागुडी ३.५८ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ। गैर–खाद्य तथा सेवा समूहमा विविध वस्तु तथा सेवा ११.७७ प्रतिशत, शिक्षा ७.६७ प्रतिशत, कपडा तथा जुत्ताचप्पल ६.२९ प्रतिशत, सुर्तीजन्य पदार्थ ४.८४ प्रतिशत र फर्निसिङ तथा घरायसी उपकरण ४.५५ प्रतिशतले बढेका छन् भने बीमा तथा वित्तीय सेवा उप–समूहको मूल्य सूचकाङ्क ०.२२ प्रतिशतले घटेको उल्लेख छ ।

विदेशी विनिमय सञ्चिति ७.६ प्रतिशतले बढेर २८ खर्ब ८१ अर्ब रुपैयाँ नाघ्यो

भदौ मसान्तसम्म देशको कुल विदेशी विनिमय सञ्चिति ७.६ प्रतिशतले वृद्धि भई २८ खर्ब ८१ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ । २०८२ असार मसान्तमा यो सञ्चिति २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ थियो । अमेरिकी डलरमा हिसाब गर्दा पनि सञ्चिति वृद्धि भई २० अर्ब ४१ करोड डलर पुगेको छ, जुन अघिल्लो अवधिको १९ अर्ब ५० करोड डलरभन्दा ४.७ प्रतिशतले बढी हो। नेपाल राष्ट्र बैंकसँग मात्रै रहेको विदेशी विनिमय सञ्चिति ६.९ प्रतिशतले बढेर २५ खर्ब ८२ अर्ब ३८ करोड पुगेको छ, जबकि असार मसान्तमा यो २४ खर्ब १४ अर्ब ६४ करोड थियो ।

राष्ट्र बैंकका तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति पनि १३.७ प्रतिशतले वृद्धि भई २ खर्ब ९८ अर्ब ९७ करोड पुगेको छ । असार मसान्तमा यो सञ्चिति २ खर्ब ६३ अर्ब ४ करोड थियो । २०८२ भदौ मसान्तसम्मको कुल विदेशी विनिमय सञ्चितिमध्ये भारतीय मुद्राको अंश २२.५ प्रतिशत रहेको छ । चालु आर्थिक वर्षको दोस्रो महिनाको आयात स्तरका आधारमा बैंकिङ प्रणालीसँग रहेको विदेशी विनिमय सञ्चिति १९.७ महिनासम्मको वस्तु आयात र १६ महिनासम्मको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले जनाएको छ ।

दुई महिनामा निर्यात ८८.६ प्रतिशतले वृद्धि, आयात १६.२ प्रतिशतले बढ्दा व्यापार घाटा रु. २५७ अर्ब नाघ्यो

आर्थिक वर्ष २०८२/८३ का पहिलो दुई महिनामा देशको कुल वस्तु निर्यात उल्लेखनीय रूपमा वृद्धि भएको छ । कुल वस्तु निर्यात ८८.६ प्रतिशतले बढेर ४७ अर्ब ३२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा निर्यातमा ५१ प्रतिशतले गिरावट आएको थियो । गन्तव्यका आधारमा भारततर्फको निर्यात १३९.९ प्रतिशतले बढेको छ भने अन्य मुलुकतर्फ ०.४ प्रतिशतले वृद्धि भएको छ । तर, चीनतर्फको निर्यातमा ५८.५ प्रतिशतले गिरावट आएको राष्ट्र बैंकले जनाएको छ । वस्तुगत रूपमा हेर्दा भटमासको तेल, पाम तेल, जुटका सामान, अलैंची र चाउचाउजस्ता वस्तुको निर्यात बढेको छ भने जिङ्क सिट, पार्टिकल बोर्ड, चिया, ऊनी गलैंचा र पिनाको निर्यात घटेको देखिन्छ ।

यस अवधिमा आयात पनि दोहोरो अंकमा वृद्धि भएको छ । कुल वस्तु आयात १६.२ प्रतिशतले बढेर ३ खर्ब ०५ अर्ब १६ करोड पुगेको छ, जबकि अघिल्लो वर्षको सोही अवधिमा आयात १.१ प्रतिशतले मात्र बढेको थियो । मुलुकगत रूपमा भारत, चीन र अन्य देशबाट भएको आयात क्रमशः ८० प्रतिशत, २५.१ प्रतिशत र ३३.४ प्रतिशतले वृद्धि भएको छ। वस्तुगत रूपमा भटमासको कच्चा तेल, रासायनिक मल, यातायातका उपकरण, सवारीसाधन तथा स्पेयर पाट्र्स, हवाइजहाज स्पेयर पाट्र्स र दूरसञ्चारका उपकरणको आयात बढेको छ भने हट रोल्ड शिट, खाने तेल, तयारी पोसाक, तेलहन र लसुनको आयात घटेको छ।

निर्यात बढेपनि आयातमा आएको वृद्धि दरका कारण व्यापार घाटा अझै बढेको छ । समीक्षा अवधिमा कुल वस्तु व्यापार घाटा ८.६ प्रतिशतले बढेर २ खर्ब ५७ अर्ब ८४ करोड पुगेको छ, जबकि अघिल्लो वर्ष सोही अवधिमा यो घाटा १.८ प्रतिशतले बढेको थियो। यस अवधिमा निर्यात–आयात अनुपात १५.५ प्रतिशत पुगेको छ, जुन अघिल्लो वर्षको ९.६ प्रतिशतभन्दा सुधारिएको हो। राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी २७ अर्ब ७५ करोड बराबरका वस्तु आयात गरिएका छन्, अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २९ अर्ब ९३ करोड बराबरको मात्र थियो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*