पोखरामा नक्कली पेस्तोल देखाएर लुटपाट, एक जना पक्राउ
२९ आश्विन २०८२, बुधबार ०७:०६

काठमाडौं । पोखरामा नक्कली पेस्तोल देखाएर लुटपाट गरेको अभियोगमा प्रहरीले सोमबार एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा पर्वत मोदी गाउँपालिका वडा नम्बर १ घर भई हाल पोखरा महानगरपालिका वडा नम्बर २० भलाम बस्ने २४ वर्षीय सुजन विक रहेका छन्।
पोखरा महानगरपालिका वडा नम्बर १२ शितलादेवीमा एक जनालाई पेस्तोल देखाएर लुटपाट गरेको खबर प्रहरीलाई पुगेपछि वडा प्रहरी कार्यालय रामबजारबाट प्रहरी टोली खटिएर गएको थियो।
सोही प्रहरीको टोलीले सुजन विकलाई एक थान नक्कली पेस्तोल (खेलौना) सहित पक्राउ गरेको हो। साथै प्रहरीले विकको साथबाट ग १३ प ९८३२ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ।
विकलाई नियन्त्रणमा लिएर घटनाको सुक्ष्म रूपमा अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ।













