कान्तिपुर सहकारी अध्यक्ष सिबी लामा जेलबाट भागेर राजनीतिमा सक्रिय

३० आश्विन २०८२, बिहीबार ०७:०२

काठमाडौं । कान्तिपुर सहकारीमा लाखौं सर्वसाधारणको अर्बौ रुपैयाँ ठगी गरेपछि पुर्पक्षका लागि कारागार पठाइएका सिबी लामा अहिले जेलबाट भागेर राजनीतिमा सक्रिय भएको खुलेको छ ।

२०५६ सालदेखि पशुपति बहुउद्देश्यीय सहकारी संस्था र कान्तिपुर बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष रहेका लामाले दुवै सहकारीमा लाखौं सर्वसाधारणको अर्बौ रुपैयाँ निक्षेप हिनामिना गरेर फरार रहँदै आएका थिए । गत वर्ष पक्राउ परेपछि लामालाई अदालतले पुर्पक्षमा पठाएको थियो ।

पुर्पक्षमा कारागारमै रहेको बखत गत भदौं २४ गतेको जेनजी आन्दोलनको क्रममा लामा कारागारबाट भागेका थिए । रवि लामिछाने बाहिर निस्किएपछि नख्खुस्थित कारागारमा रहेका सयौं कैदीहरु भागेका थिए ।

कारागारबाट भागेका लामा अहिले काभ्रे जिल्लामा पुगेर नेपाली कांग्रेसको पार्टी गतिविधिमा सक्रिय भएको खुलेको छ । नेपाली कांग्रेसका पूर्व कोषाध्यक्ष समेत रहेका लामा राजनीतिमा सक्रिय भएको काभ्रेस्थित नेपाली कांग्रेस निकट स्रोतले जानकारी दिएको छ ।

अपराधिक कार्यमा संलग्न व्यक्तिहरुलाई राजनीतिक दलहरुले संरक्षण दिने, दलाल र माफियासँग मिलेर सत्ता चलाउने गलत अभ्यासको कारण जेनजी पुस्ताले गत भदौं २३ गते राजधानी काठमाडौंमा विशाल प्रदर्शन गरेका थिए । सोही आन्दोलनको जगमा संघीय लोकतान्त्रिक गणतान्त्रिक शासन व्यवस्था नै धरापमा परिसकेको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*