जेन–जी आन्दोलनको दुई अर्ब बीमा दावी भुक्तानी, सिद्धार्थ प्रिमियर र शिखरको सर्वाधिक, कुनको कति ?

३० आश्विन २०८२, बिहीबार १४:४६

काठमाडौं । गत महिनाको भदौ २३ गतेदेखि सुरु भएको जेन–जी आन्दोलनको क्षतिमा २३ अर्ब १९ करोड ३६ लाख रुपैयाँको प्रारम्भिक बीमा दावी परेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको विवरण अनुसार असोज २८ गतेसम्ममा कुल ३१६३ वटा बीमा दावीबापत उक्त रकमको कुल बीमा दावी परेको हो ।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार हालसम्म निर्जीवन बीमा कम्पनीहरुपले एक अर्ब ९५ करोड ४७ लाख रुपैयाँ भुक्तानी गरेको छ । यसमा भुक्तानी भएको र अग्रिम भुक्तानी गरिएको रकम समेत जोडिएको छ ।

सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा सबैभन्दा बढी रुपैयाँको बीमा दावी परेको छ । कम्पनीमा कुल पाँच अर्ब ४८ करोड ५४ लाख रुपैयाँको प्रारम्भिक बीमा दावी परेको छ । कम्पनीमा देशभरीबाट हालसम्म ३९४ वटा दावी परेका छन् । जसमा कम्पनीले भुक्तानी र अग्रीम भुक्तानीसहित ७८ करोड आठ लाख रुपैयाँ बीमितलाई वितरण गरिसकेको छ ।

सर्वाधिक बीमा दावी पर्नेमा द ओरियण्टल इन्स्योरेन्स दोस्रो स्थानमा रहेको छ । कम्पनीमा देशभरीबाट ९८ वटा दावी बापत पाँच अर्ब २४ करोड ८२ लाख रुपैयाँको प्रारम्भिक बीमा दावी परेको छ । कम्पनीले असोज २८ गतेसम्मको अवधिमा ७१ लख ७० हजार रुपैयाँ मात्र दावी भुक्तानी वितरण गरेको छ ।

साथै, सबैभन्दा बढी बीमा दावी पर्नेमा तेस्रो नम्बरमा आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स रहेको छ । हालसम्म कम्पनीमा कुल २१५ वटा दावी बापत दुई अर्ब ७९ करोड ४८ लाख रुपैयाँको प्रारम्भिक बीमा दावी परेको छ । कम्पनीले असोज २८ गतेसम्म ३० करोड ७६ लाख रुपैयाँ बराबरको बीमा दावी भुक्तानी गरिसकेको छ ।

शिखर इन्स्योरेन्समा ४३३ वटा दावी बापत कुल दुई अर्ब ४१ करोड ११ लाख रुपैयाँको प्रारम्भिक बीमा दावी परेको छ । जसमा हालसम्म कम्पनीले ४२ करोड २७ लाख रुपैयाँ बराबरको दावी भुक्तानी गरिसकेको छ ।

यसैगरी, जेन–जी आन्दोलनले सगरमाथा लुम्बिनी इन्स्योरेन्समा ३४२ वटा दावी बापत एक अर्ब ५९ करोड ३८ लाख रुपैयाँको कुल बीमा दावी परेको छ । कम्पनीले हालसम्म दुई करोड ७९ लाख रुपैयाँ भुक्तानी वितरण गरिसकेको छ ।

स्रोतः नेपाल बीमा प्राधिकरण

नेको इन्स्योरेन्समा २५९ वटा दावी बापत एक अर्ब १५ करोड ५४ लाख रुपैयाँको कुल प्रारम्भिक बीमा दावी परेको छ । कम्पनीले हालसम्म आठ करोड ३९ लाख रुपैयाँ बराबरको बीमा दावी भुक्तानी गरिसकेको छ ।

हिमालयन एभरेष्ट इन्स्योरेन्समा २७० वटा दावी बापत ९८ करोड ६२ लाख रुपैयाँको बीमा दावी परेको छ । जसमा कम्पनीले २४ करोड ५३ लाख रुपैयाँ बीमा दावी भुक्तानी गरिसकेको छ ।

नेपाल बीमा प्राधिकरणका अनुसार युनाइटेड अजोड इन्स्योरेन्सले एक करोड ७८ लाख रुपैया, नेपाल इन्स्योरेन्सले पाँच करोड २७ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्सले ३९ लाख रुपैयाँ, प्रभु इन्स्योरेन्सले १४ लाख रुपैयाँ र सानिमा जिआईसी इन्स्योरेन्सले दुई लाख रुपैयाँ बीमा दावी भुक्तानी गरेको छ ।

नेपाल बीमा प्राधिकरणले जेन–जी आन्दोलन पीडितलाई राहत दिन छरितो दावी भुक्तानी प्रक्रियाका लागि सहजिकरण गरेको छ । प्राधिकरणले सक्दो चाँडो विवरण संकलन गरी बीमा दावी भुक्तानी गर्न बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ ।

बीमा कम्पनीहरुले एडभान्समा दिन थाले दावी भुक्तानी, अग्रिम पैसा पाएपछि बीमित नै दंग

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*