अपाङ्ग र ज्येष्ठ नागरिकलाई हवाई भाडामा ८० प्रतिशतसम्म छुट गर्ने नागरिक उड्डयनको निर्णय

२ कार्तिक २०८२, आईतवार १६:४८

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक हवाई उडानमा ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरूलाई हवाई भाडामा ५० देखि ८० प्रतिशतसम्म छुट दिने निर्णय गरेको छ । शुक्रबार नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक, वायुसेवा सञ्चालक सङ्घका अध्यक्ष तथा आन्तरिक वायुसेवा कम्पनीका प्रतिनिधिहरूबिच भएको बैठकले हवाई यात्रालाई थप सहज र सहुलियतपूर्ण बनाउन यस्तो सहमति गरेको हो ।

प्राधिकरणले जारी गरेको विज्ञप्तिअनुसार अब ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकले नेपाल सरकारले तोकेको अधिकतम हवाई भाडामा सबै सेक्टरमा ५० प्रतिशत छुट पाउनेछन् । त्यसैगरी ७५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकले ७० प्रतिशत र ८० वर्ष नाघेका ज्येष्ठ नागरिकले ८० प्रतिशत छुट पाउने व्यवस्था गरिएको छ । यो व्यवस्थाले हवाई यात्रा गर्न चाहने पाका उमेरका नागरिकलाई ठुलो राहत मिल्ने अपेक्षा गरिएको छ ।

यसका साथै जुनसुकै उमेर समूहका अपाङ्गता भएका यात्रुहरूका लागि पनि न्यूनतम ५० प्रतिशत छुट सुनिश्चित हुने गरी व्यवस्था मिलाइएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*