आज यमपञ्चकको दोस्रो दिन, लक्ष्मी पूजा र कुकुर तिहार मनाइँदै
३ कार्तिक २०८२, सोमबार ०७:११

काठमाडौं । आज कार्तिक ३ गते सोमबार यमपञ्चकको दोस्रो दिनका रूपमा लक्ष्मी पूजा र कुकुर तिहार श्रद्धा, भक्ति र उत्साहका साथ मनाइँदै छ। हिन्दु धर्मअनुसार आजको दिनलाई धनकी देवी लक्ष्मीको आराधना गर्ने पवित्र अवसरका रूपमा लिइन्छ।
साँझपख घर–घरमा दीप प्रज्वलन गरी लक्ष्मीको स्वागत गरिन्छ। यस दिन घर, पसल र कार्यालयहरूमा सरसफाइ गरी रंगोली, फूलमाला र दियोले सजाइन्छ। यसले धन र समृद्धिमा वृद्धि हुने विश्वास रहिआएको छ।
यसै दिन कुकुर तिहार पनि मनाइन्छ। कुकुरलाई यमदूतको प्रतीक मानिँदै तिनको निष्ठा, सुरक्षात्मक स्वभाव र मानवप्रति समर्पणका लागि तिलक, माला र मीठा परिकार अर्पण गरी सम्मान गरिन्छ। कुकुरप्रति कृतज्ञता र माया प्रदर्शन गरेर यो पर्व मनाइँने गरिन्छ।













