कांग्रेस नेता खुमा आर्यालको युनिभर्सल मेडिकल कलेजमा श्रम शोषण, नर्सहरु आन्दोलनमा

बुटवल । नेपाल कांग्रेसका नेता खुमा अर्यालको मुख्य लगानी रहेको युनिभर्सल मेडिकल साईन्स शिक्षण अस्पताले चिकित्सकहरुमाथि व्यापक श्रम शोषण गरेपछि चर्को विरोध भइरहेको छ । तिहारको समयमा पनि नर्सहरुले दैनिक रुपमा श्रम शोषणको अन्त्य र न्यूनतम् ज्याला माग गर्दै यही कार्तिक २ गतेदेखि दैनिक रुपमा धर्ना दिइरहेका छन् ।
खुमा अर्याल मेडिकल क्षेत्रका विवादित पात्र हुन् । अर्याल सञ्चालक रहेको युनिभर्सल मेडिकल अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल भैरहवामा नर्सहरुले आज आठौं दिनसम्म पनि लगातार धर्ना दिइरहेका छन् ।
आन्दोलनरत नर्सहरुले न्यूनतम् सेवा सुविधा पाउनुपर्ने, नर्सिङ र स्वास्थ्यकर्मीको पारिश्रमिक लगायतका सबै सुविधाहरु सरकारी सुविधा सरह नघट्ने गरी उपलब्ध गराउनुपर्ने माग राख्दै विदेशिन बाध्य नपार्न चेतावनी दिएका छन् ।
आन्दोलनरत नर्सहरुले नेपाल सरकारले २०८१ मंसिर २७ मा स्वास्थ्य संस्थामा कार्यरत नर्सिङ र स्वास्थ्यकर्मीको पारिश्रमिक सम्बन्धमा गरेको निर्णय कार्यान्वयन गर्नुपर्ने माग गरेका छन् ।
पीडित नर्सहरुका अनुसार ३४ हजार ७३० रुपैयाँ तलव पाउनुपर्ने नर्सलाई अस्पतालले जम्मा १३ हजार रुपैयाँ मात्रै तलव दिएर ठगी गरिरहेको आरोप समेत लगाएका छन् ।
अस्पतालले भने १३ हजारदेखि १५ हजारसम्म मात्रै बेसिक तलब दिने गरेको नर्सहरुले गुनासो गरेका छन् । अस्पतालले स्टाफ नर्सको रुपमा तोकेर राखेकाले स्टाफ नर्सलाई सरकारले तोकेको पारिश्रमिक दिनुपर्ने नर्सहरुको माग छ ।













