नेपालमा जताततै सम्भावना देख्छु, लगानीमैत्री वातावरण बन्दैछ : महासंघ अध्यक्ष ढकाल

९ कार्तिक २०८२, आईतवार १०:४८

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा हरेक क्षेत्रमा सम्भावना र अवसर नै अवसर रहेको बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले नेपाल जस्तो सम्भावना अन्यत्र कतै नदेखिएको स्पष्ट पारे ।

‘नेपालमा सम्भावना छैन, पुँजीले केही हुँदैन, व्यवसायको वातावरण छैन भन्ने कुरा सुन्छु,’ उनले भने, ‘तर म जहाँ गए पनि नेपालजस्तो अवसर र सम्भावना कतै देख्दिनँ ।’

उनले अझै पनि नेपालमा थुप्रै क्षेत्रहरू अन्वेषण गर्न बाँकी रहेको उल्लेख गर्दै त्यसतर्फ ध्यान दिनुपर्ने बताए । ‘हामीले त केही गरेकै छैनौँ, जति धेरै एक्स्प्लोर गर्छौँ त्यति नै अवसर भेटिन्छन् । ती अवसरलाई सम्भव बनाउन हामी लाग्नुपर्छ ,’ ढकालले भने ।

ढकालले नेपालमा लगानीका लागि वातावरण छैन भन्ने धारणा गलत भएको दाबी गर्दै अमेरिकामा रहेका लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह गरे । उनका अनुसार महासंघको पहलमा लगानीमैत्री वातावरण बनाउन हालसम्म करिब ३० वटा कानुन संशोधन गरिएका छन् । साथै अर्थतन्त्र सुधारसम्बन्धी उच्चस्तरीय आयोगका सुझावहरू कार्यान्वयनमा आइरहेको समेत जानकारी दिए ।

‘नेपालमा लगानीका सम्भावना स्वदेशी र विदेशी दुवै लगानीकर्ताले खोजिरहेका छन्,’ उनले भने । ‘यही सन्देश दिन र नेपालमा ठूला लगानी गर्न सकिन्छ भन्ने प्रमाणित गर्न हामीले हालसालै १० अर्ब रुपैयाँ पूँजीको नेपाल डेभ्लपमेन्ट पब्लिक लिमिटेड (एनडिपी) स्थापना गरेर काम सुरु गरिसकेका छौँ ।’

ढकालले हालै जेन–जी आन्दोलनका क्रममा निजी क्षेत्रका प्रतिष्ठान र निजी सम्पत्तिमा भएको आक्रमणप्रति चिन्ता व्यक्त गर्दै त्यसले गलत सन्देश दिएको बताए ।

‘निजी क्षेत्रले मुलुकको कुल अर्थतन्त्रमा ८१ प्रतिशत योगदान दिएको छ, जबकि ८६ प्रतिशत रोजगारी पनि यही क्षेत्रले सिर्जना गरेको छ,’ उनले भने । ‘त्यस्तो क्षेत्रमाथि आक्रमण हुनु गलत मात्र होइन, आर्थिक सन्देशका दृष्टिले पनि हानिकारक हो ।’

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*