तीन महिनामा वैदेशिक व्यापारमा उछाल: निर्यात ८९.६४ प्रतिशत बढ्यो, आयात ४ खर्ब ८६ अर्ब

९ कार्तिक २०८२, आईतवार १३:५८

काठमाडाैं। चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा मुलुकको वैदेशिक व्यापारमा उल्लेखनीय वृद्धि देखिएको छ। भन्सार विभागका अनुसार साउनदेखि असाेज मसान्तसम्म कुल ५ खर्ब ४० अर्ब ८६ करोड ६१ लाख रूपैयाँ बराबरको व्यापार भएको छ, जुन गत वर्षको ४ खर्ब २९ अर्ब १३ करोड १० लाख रूपैयाँको तुलनामा २६.०४ प्रतिशतले बढी हो।

यस अवधिमा वस्तु आयात ४ खर्ब ६८ अर्ब ८ करोड ३३ लाख रूपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको समान अवधिको ३ खर्ब ९० अर्ब ७५ करोड २३ लाखको तुलनामा १९.७९ प्रतिशतले वृद्धि भएको हो।

निर्यात भने द्रुत गतिमा बढ्दै ७२ अर्ब ७८ करोड रूपैयाँ पुगेको छ, अघिल्लो वर्षको ३८ अर्ब ३७ करोडको तुलनामा ८९.६४ प्रतिशतले बढेको छ।

तीन महिनाको तथ्यांक अनुसार व्यापार घाटा ३ खर्ब ९५ अर्ब ३० करोड रूपैयाँ रहेको छ। कुल वैदेशिक व्यापार २६ प्रतिशतले बढ्दा पनि व्यापार घाटामा वृद्धि मात्र १२.१८ प्रतिशत सीमित रह्यो।

कुल वैदेशिक व्यापारमा आयातको हिस्सा ८६.५४ प्रतिशत छ, जुन अघिल्लो वर्षको तुलनामा ४.९६ प्रतिशत कम हो। निर्यातको हिस्सा भने १३.४६ प्रतिशत पुगेको छ, जसले अघिल्लो वर्षको तुलनामा ५०.४७ प्रतिशतको उच्च वृद्धि देखाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*