राष्ट्रिय मानव अधिकार आयोगको आग्रह : शान्तिपूर्ण प्रदर्शनलाई सम्मान गर्न सबै पक्ष जिम्मेवार

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले आफ्ना मागहरू सम्बोधन हुनुपर्ने मागसहित शान्तिपूर्ण रूपमा प्रदर्शन गरिरहेका सबै पक्षलाई संयमित रहन आग्रह गरेको छ। आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा नागरिकले राखेका मागहरू समयमा उचित सम्बोधन गर्न, समस्याको समाधान निकाल्न, सबैको भूमिका सुनिश्चित गर्न, साथै नागरिकको शान्तिपूर्ण प्रदर्शन गर्ने अधिकार र मानव अधिकारको सम्मान तथा संरक्षण गर्न सरकारलाई आह्वान गरिएको छ।
विज्ञप्तिमा भनिएको छ, ‘समस्याको समाधान वार्ता र संवादबाट मात्र सम्भव हुन्छ। हरेक समस्याको समाधान विधिको शासन, संविधान, कानुन र मानवअधिकारको मूल्यमान्यताका आधारमा शान्तिपूर्ण रूपमा खोजिनुपर्छ।’ आयोगले विगतका केही अभ्यास हेर्दा शान्तिपूर्ण भनिएका प्रदर्शन पनि कहिलेकाहीं ध्वंसात्मक र हिंसात्मक रूप लिएका तथ्यलाई ध्यानमा राख्दै आगामी दिनमा त्यस्ता गतिविधि हुन नदिन प्रदर्शनरत पक्ष सचेत हुनुपर्नेमा जोड दिएको छ।
प्रदर्शनलाई शान्तिपूर्ण बनाउन सबै पक्ष जिम्मेवार हुने र आगामी दिनमा हुने प्रदर्शनमा घुसपैठ हुन नदिन दायित्व सरकार र प्रदर्शनकारी दुवैको रहेको विज्ञप्तिमा उल्लेख छ। साथै, सुरक्षा निकायले संयमता, धैर्यता र विवेकपूर्ण व्यवहार अपनाउनुपर्ने र प्रदर्शनरत पक्षले आफ्ना क्रियाकलापलाई शान्तिपूर्ण बनाउने, घृणायुक्त अभिव्यक्ति नदिने र उत्तेजनापूर्ण व्यवहारलाई नियन्त्रण गर्ने कर्तव्य पूरा गर्नुपर्ने आयोगले जनाएको छ।
आयोगका अनुसार, नागरिकका यस प्रकारका अधिकारको सम्मान गर्ने र सहज वातावरण सिर्जना गर्ने दायित्व राज्यको भएकाले गत भदौ २३ र २४ मा भएका प्रदर्शनपश्चात् जेन-जी पुस्ताले उठाएका जायज माग समयमा सम्बोधन हुनु आवश्यक छ।














