नक्कली बिल बनाउँदै रकमको हिनामिनाः विद्यालय व्यवस्थापनका अध्यक्षसहित ३ जनाविरूद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्याङ्जाको गल्याङस्थित शिशु कल्याण माध्यमिक विद्यालयमा ६ लाख ५० हजार रुपैयाँ हिनामिनाको आरोपमा विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष राम थापा, प्रधानाध्यापक रविलाल लुईटेल र लेखापाल छविलाल गाहाविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।
अख्तियारले जनाएको छ कि उनीहरूले ICT कार्यक्रम अन्तर्गत प्राप्त कम्प्युटर, ल्यापटप, प्रोजेक्टर र प्रिन्टर खरिद गरेको नक्कली बिल तयार गरी भुक्तानी लिएका हुन्। अनुसन्धानका क्रममा देखिएको छ कि दुई थान कम्प्युटर, एक प्रिन्टर र प्रोजेक्टर विद्यालयमा नपुगाई नक्कली दाखिला प्रतिवेदन तयार गरी २ लाख १७ हजार रुपैयाँ हिनामिना गरिएको थियो।
यसैगरी, विद्यालय व्यवस्थापन समितिको निर्णयबिना प्रधानाध्यापकको नाममा चेक काटेर २ लाख ५४ हजार रुपैयाँ विद्यालयको कोषबाट निकाली फिर्ता नगरी हिनामिना गरिएको अख्तियारले जनाएको छ। कुल मिलाएर तीनैजनाले विद्यालयको ४ लाख ७१ हजार रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको आरोप छ।
अख्तियारले यस सम्बन्धमा दायर गरेको आरोपपत्र आज विशेष अदालत, काठमाडौंमा पेश गरिएको छ।













