अन्नपूर्ण र मुस्ताङमा पर्यटकको लर्को, खान–बस्नमा समस्या

काठमाडौं । अन्नपूर्ण आधार शिविरमा गत असोजको अन्तिम सातादेखि सुरु भएको पर्यटकको लर्को यही कात्तिक दोस्रो हप्ताको सुरुवातसम्म पनि रोकिएको छैन । यी दुई ठाउँमा यस वर्ष यति धेरै पर्यटक आऊलान् भनेर कसैले कल्पना पनि गरेका थिएनन् ।
पछिल्ला दिन मुस्ताङ, म्याग्दी, बागलुङ र पर्वतका होटलहरू भरिभराउ भएका छन् । होटल सञ्चालकलाई आवास व्यवस्थापन चुनौतीपूर्ण बनेको छ । दसैँ, तिहार, छठलगायत चाडपर्वको लामो बिदामा विद्यालय कलेजका विद्यार्थी, युवा तन्नेरी, कर्मचारी, बैंक तथा वित्तीय संस्था र चाडपर्व मनाउन विदेशबाट जन्मथलो आएकाका रोजाइमा मुस्ताङ र अन्नपूर्ण आधार शिविर परेको हो ।
आन्तरिक पर्यटकको पहिलो रोजाइमा मुस्ताङ जिल्लास्थित मुक्तिनाथ दर्शन गर्ने गन्तव्य बनेको छ । मुस्ताङ पुगेकाहरूले कोरला नाका, लोमान्थाङ दरबार, छोसेर गुफा, चिउँसी गुफा, चराङ गुम्बा, मराङ गुम्बा, कागबेनी, ढुम्बाताल र मार्फा गाउँको भ्रमण गर्ने गर्दछन् । यहाँ बर्सेनि आठ लाख बढी आन्तरिक र डेढ लाख बढी विदेशी पर्यटकले मुस्ताङको भ्रमण गर्ने जनाइएको छ ।

छोटो अवधिमा पहाडी र हिमाली क्षेत्रको एकै पटक साहसिक यात्रामा रुचि राख्नेहरू म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण हिमालको आधार शिविरमा पुगेका छन् । फुतफुते झरना र अन्नपूर्ण हिमालको फेदीमा रहेको नीलो रङको पञ्चकुण्ड तालहुँदै ४ हजार १ सय ९० मिटर उचाइमा अवस्थित अन्नपूर्ण आधार शिविर पुगिन्छ । तीन दिनमा आधार शिविर पुगेर फर्कन सकिन्छ । नीलगिरि र अन्नपूर्ण हिमालको फेदमा समथर फाँटमा रहेको अन्नपूर्ण आधार शिविर नयाँ गन्तव्य पनि हो ।
सडक यातायातको सहज पहुँच र प्रचारप्रसारका कारण मुस्ताङ र अन्नपूर्ण आधार शिविर आन्तरिक पर्यटकको रोजाइमा परेको म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले बताए । ‘मुक्तिनाथ, कागबेनीको तीर्थयात्रा गर्ने, हिमाल, उजाड पहाड, तालतलैया हेर्न, हिमाली जनजीवन र संस्कृतिमा रमाउने तथा गाडी चढेरै कोरला नाकासम्म पुग्न सकिने भएपछि मुस्ताङ धेरैको रोजाइमा परेको हो।’













