ईभी बजार द्रुत बढ्दो, तीन महिनामा नेपालमा २६ सय विद्युतीय सवारी आयात

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को असोज महिनासम्म नेपालमा २६ सय ६० वटा विद्युतीय सवारी (ईभी) भित्रिएका छन् । भन्सार विभागका तथ्याङ्कअनुसार यी सवारीहरूको कुल मूल्य ६ अर्ब २५ करोड ५ लाख ५८ रुपैयाँ रहेको छ । यसमा विभिन्न क्षमताका कार, जीप र भ्यान समावेश छन् ।
अघिल्लो महिना भदौसम्म ४८६ वटा मात्र ईभी आयात भएका थिए । असोजमा भदौको तुलनामा २१ सय ३४ वटा बढी सवारी भित्रिँदा नेपालमा ईभीको माग र गति द्रुत भएको देखिन्छ । २६ सय २० वटा ईभी आयात हुँदा सरकारले ३ अर्ब ९१ करोड ६५ लाख ८२ हजार रुपैयाँ राजस्व संकलन गरेको विभागले जनाएको छ ।
नीति परिवर्तन, बजार आकर्षण र प्रविधि उपलब्धताका कारण विद्युतीय सवारीको आयात बढ्दै गएको हो । तीन पाङ्ग्रे ईभीको माग पनि उच्च रहँदै आएको छ । चालु तीन महिनामा २ हजार ३२ वटा तीन पाङ्ग्रे सवारी भित्रिएका छन्, जसबाट सरकारले ७ करोड ८४ लाख ३४ हजार रुपैयाँ राजस्व प्राप्त गरेको छ ।
नेपालमा ईभी उत्पादन नभएकाले यी सवारीहरू मुख्यत: भारत र चीनबाट आयात भइरहेको विभागले जनाएको छ । ५० किलोवाट क्षमता भएका ईभीमध्ये चीनबाट ५४२ र भारतबाट २०९ वटा भित्रिएका छन् । ५१–१०० किलोवाट क्षमताका सवारी चीनबाट १०९१, भारतबाट २५२, थाइल्यान्डबाट २०१ र युनाइटेड किंगडमबाट १ वटा भित्रिएको छ ।
१०१–२०० किलोवाट क्षमता भएका सवारीमध्ये चीनबाट ३०४, भारतबाट २, जर्मनीबाट ५, कोरिया र अमेरिकाबाट क्रमश: २ र १० वटा भित्रिएका छन् । २०१–३०० किलोवाट क्षमता भएको एक सवारी मात्र अमेरिकाबाट आयात भएको विभागले जानकारी दिएको छ ।













