डेडिकेटेड लाइन विवाद चुलिँदा पञ्चकन्या ग्रुपका सबै उद्योग बन्द

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको विवादित अतिरिक्त महशुल नीतिअन्तर्गत डेडिकेटेड लाइन काटिएपछि देशकै ठूलो व्यवसायिक समूह पञ्चकन्या ग्रुपका सबै उद्योग बन्द भएका छन् ।
प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको कार्यकालमा सुरु भएको प्रशासनिक पुनरावलोकन प्रक्रिया ऊर्जामन्त्री घिसिङ पदमा आएपछि भंग गरी पुनः उद्योगहरूबाट विवादित महशुल असुल गर्ने कार्य अघि बढाइएको हो । सो क्रममा प्राधिकरणले बक्यौता नतिरेका उद्योगहरूको विद्युत् लाइन काट्न थालेपछि पञ्चकन्या समूहका सबै उद्योगहरू ठप्प भएका हुन् ।
भैरहवास्थित पञ्चकन्या ग्रुपका उद्योगहरू डेडिकेटेड तथा ट्रंकलाइनमार्फत आपूर्ति हुने विद्युत् महशुल विवादमा फसेका थिए । प्राधिकरणले गत शुक्रबार ती उद्योगहरूको लाइन काटेपछि उत्पादन पूर्ण रूपमा बन्द भएको हो ।
शुक्रबारदेखि भैरहवा प्लान्टका सबै उद्योगहरू बन्द छन् । विद्युत् प्राधिकरणले बक्यौता महसुल नतिरेको भन्दै पञ्चकन्यासहित २५ वटा उद्योगको लाइन काटेको जनाएको छ । उद्योगीहरूले भने सो महशुल आफूहरूले तिर्न नपर्ने र प्राधिकरणले जबरजस्ती लाद्न खोजेको गुनासो गरेका छन् ।
विगत आठ वर्षदेखि जारी यस विवाद समाधानका लागि सरकारले पूर्वन्यायाधीश गिरिशचन्द्र लालको नेतृत्वमा उच्चस्तरीय आयोग गठन गरेको थियो । आयोगले प्रमाणका आधारमा उद्योगहरूबाट प्रिमियम महशुल लिनुपर्ने निष्कर्षसहित प्रतिवेदन बुझाएको र सरकारले त्यसको कार्यान्वयन गर्ने निर्णय गरेको छ ।
प्राधिकरणको हालको कदमले विवादलाई झनै जटिल बनाएको उद्योगीहरूको दाबी छ । आयोगको प्रतिवेदन स्पष्ट कार्यान्वयन मापदण्डसहित अघि बढाउनुपर्नेमा उल्टै प्रशासनिक दबाबमार्फत उद्योग बन्द गराइएको छ, जसले उत्पादन र रोजगारी दुवैमा नकारात्मक असर पार्ने देखिएको छ ।













