लुम्बिनी विकास कोषका विवादित उपाध्यक्ष लामालाई बर्खास्त गर्न माग

काठमाडौँ । लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्यारक्याल लामालाई पदबाट हटाउन माग गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उजुरी दर्ता गरिएको छ।
उजुरीमा लामाको विगतमा हातहतियार मुद्दामा दोषी ठहर भई जरिवाना तिरेको र त्यस पृष्ठभूमिका कारण लुम्बिनीजस्तो पवित्र स्थलको प्रतिष्ठामा आँच आउने उल्लेख गरिएको छ। उजुरीकर्ताहरूका अनुसार यस्तो व्यक्तिले उपाध्यक्षको जिम्मेवारी सम्हाल्नु अन्तर्राष्ट्रिय सन्देशका दृष्टिले समेत नकारात्मक हुनेछ।
लामाले नियुक्ति पाउँदा कुनै फौजदारी सजाय नभएको वा जरिवाना बाँकी नरहेको स्वघोषणा नगरी पद ग्रहण गरेको आरोप उजुरीमा गरिएको छ। प्रधानमन्त्री कार्यालयमा दर्ता अभिलेखअनुसार, उनले हातहतियार तथा खरखजाना मुद्दामा जिल्ला प्रशासन कार्यालय काठमाडौंमार्फत अठ्ठाइस हजार पाँच सय रुपैयाँ जरिवाना बुझाएका थिए।
यस्तै, उजुरीमा लामामाथि लुम्बिनी क्षेत्रको करिब तीन दशकका लागि लिजमा दिने प्रयास गरेको र यस क्रममा पदको दुरुपयोग गरेको दाबी समेत गरिएको छ।













