केन्यामा पर्यटक बोकेको विमान दुर्घटना, १२ जनाको मृत्यु

काठमाडौँ । केन्याको तटीय काउन्टी क्वालेमा मङ्गलबार बिहान भएको विमान दुर्घटनामा कम्तीमा १२ जनाको मृत्यु भएको छ।
केन्या नागरिक उड्डयन प्राधिकरणका अनुसार दियानीबाट किचवा टेम्बोतर्फ उडेको पाँच–वाई–सिसिए कलसाइन भएको विमान दुर्घटनाग्रस्त भएको हो। उक्त विमान प्रसिद्ध पर्यटनस्थल मासाई मारा नेसनल रिजर्भतर्फ जाँदै गरेको बताइएको छ।
केसीएएका अनुसार विमानमा १२ जना यात्रु सवार थिए। दुर्घटनाको कारण पत्ता लगाउन र यसको प्रभाव मूल्याङ्कन गर्न अनुसन्धान सुरु गरिएको जनाइएको छ।
स्थानीय प्रहरीका अनुसार दुर्घटनामा परेका सबै यात्रु पर्यटक रहेका छन्। उद्धार टोलीले घटनास्थलबाट उद्धार कार्य सकिएको र सबैको शव फेला परेको पुष्टि गरेको छ।
दुर्घटनाग्रस्त विमान मोम्बासा र अन्य पर्यटकीय गन्तव्यहरूबीच नियमित सेवा प्रदान गर्ने एक निजी एयरलाइन्सको भएको बताइएको छ। अधिकारीहरूले घटनास्थल वरिपरि सुरक्षाकर्मी परिचालन गरी दुर्घटनाको प्रारम्भिक विवरण संकलन थालेका छन्।













