जेन–जी आन्दोलनको दुई अर्ब ७९ करोड बीमा दावी भुक्तानी, सिद्धार्थ प्रिमियरकै एक अर्ब २८ करोड, अन्य कुनको कति ?

१२ कार्तिक २०८२, बुधबार १२:४२

काठमाडौं । भदौ २३ गतेदेखि सुरु भएको जेन–जी आन्दोलनको क्षतिमा २३ अर्ब २३ करोड ३७ लाख रुपैयाँको प्रारम्भिक बीमा दावी परेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको विवरण अनुसार कात्तिक ९ गतेसम्ममा कुल ३१८७ वटा बीमा दावीबापत उक्त रकमको कुल बीमा दावी परेको हो ।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार हालसम्म निर्जीवन बीमा कम्पनीहरुपले दुई अर्ब ७९ करोड ७४ लाख रुपैयाँ भुक्तानी गरेको छ । यसमा भुक्तानी भएको र अग्रिम भुक्तानी गरिएको रकम समेत जोडिएको छ ।

सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा सबैभन्दा बढी रुपैयाँको बीमा दावी परेको छ । कम्पनीमा कुल पाँच अर्ब ४९ करोड ४८ लाख रुपैयाँको प्रारम्भिक बीमा दावी परेको छ । कम्पनीमा देशभरीबाट हालसम्म ३९७ वटा दावी परेका छन् । जसमा कम्पनीले भुक्तानी र अग्रीम भुक्तानीसहित एक अर्ब २८ करोड तीन लाख रुपैयाँ बीमितलाई वितरण गरिसकेको छ ।

सर्वाधिक बीमा दावी पर्नेमा द ओरियण्टल इन्स्योरेन्स दोस्रो स्थानमा रहेको छ । कम्पनीमा देशभरीबाट ९९ वटा दावी बापत पाँच अर्ब २४ करोड ४० लाख रुपैयाँको प्रारम्भिक बीमा दावी परेको छ । कम्पनीले कात्तिक नौ गतेसम्मको अवधिमा एक करोड ६६ लाख रुपैयाँ मात्र दावी भुक्तानी वितरण गरेको छ ।

साथै, सबैभन्दा बढी बीमा दावी पर्नेमा तेस्रो नम्बरमा आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स रहेको छ । हालसम्म कम्पनीमा कुल २१५ वटा दावी बापत दुई अर्ब ७९ करोड ४१ लाख रुपैयाँको प्रारम्भिक बीमा दावी परेको छ । कम्पनीले कात्तिक नौ गतेसम्म ३१ करोड ४१ लाख रुपैयाँ बराबरको बीमा दावी भुक्तानी गरिसकेको छ ।

शिखर इन्स्योरेन्समा ४३५ वटा दावी बापत कुल दुई अर्ब ४१ करोड २९ लाख रुपैयाँको प्रारम्भिक बीमा दावी परेको छ । जसमा हालसम्म कम्पनीले ५८ करोड ३२ लाख रुपैयाँ बराबरको दावी भुक्तानी गरिसकेको छ ।

यसैगरी, जेन–जी आन्दोलनको हिमालयन एभरेष्ट इन्स्योरेन्सले २५ करोड ६० लाख रुपैयाँ, नेको इन्स्योरेन्सले नौ करोड ८० लाख रुपैयाँ, सगरमाथा लुम्बिनी इन्स्योरेन्सले सात करोड २४ लाख रुपैयाँ र सानिमा जिआईसी इन्स्योरेन्सले सात करोड १४ लाख रुपैयाँ बराबरको कुल बीमा दावी भुक्तानी गरेको छ ।

नेपाल बीमा प्राधिकरणका अनुसार युनाइटेड अजोड इन्स्योरेन्सले एक करोड ७८ लाख रुपैया, नेपाल इन्स्योरेन्सले ६ करोड ११ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्सले दुई करोड एक लाख रुपैयाँ, प्रभु इन्स्योरेन्सले २२ लाख रुपैयाँ बीमा दावी भुक्तानी गरेको छ ।

नेपाल बीमा प्राधिकरणले जेन–जी आन्दोलन पीडितलाई राहत दिन छरितो दावी भुक्तानी प्रक्रियाका लागि सहजिकरण गरेको छ । प्राधिकरणले सक्दो चाँडो विवरण संकलन गरी बीमा दावी भुक्तानी गर्न बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*