मङ्सिर ७ देखि देशव्यापी आन्दोलन गर्ने प्रसाईंको घोषणा

१२ कार्तिक २०८२, बुधबार १३:५१

काठमाडौँ। राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले व्यवस्था परिवर्तनको माग राख्दै मङ्सिर ७ गतेदेखि देशव्यापी आन्दोलनको घोषणा गरेका छन्।

आन्दोलन बन्दुक, बारुद बोकेर आउने, सिंहदरबारमा आगो लगाउने, मानिसका घर जलाउने वा नेपाली नागरिक र व्यापार व्यवसायमा तोडफोड गर्ने किसिमको नहुने प्रसाईंले जनाएका छन् । । उनका अनुसार अभियान पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म, १४ अञ्चल, ७५ वटै जिल्ला र १६५ वटै निर्वाचन क्षेत्रमा सञ्चालन हुनेछ।

बुधबार मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरसँग छलफल गरेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रसाईंले आन्दोलन मङ्सिर ७ गतेदेखि नै सुरु हुने जानकारी दिनु परेको बताए।

मङ्सिर ७ गतेको महत्त्वबारे प्रसाईंले भने, ‘यो दिन दिल्लीमा दलहरू र विद्रोही माओवादीबीच १२ बुँदे सम्झौता भएको दिन हो। त्यही सम्झौताका कारण देशमा राजसंस्था समाप्त भयो, हिन्दु अधिराज्य समाप्त भयो, र आज नेपाली नागरिक विदेश गएर देश खाली भएको तथा विदेशीहरूको प्रभावमा एनजीओ र आईएनजीओहरूले सरकार चलाएका छन्।’

प्रसाईंका अनुसार यो अभियान पशुपति तथा माता दुर्गालाई जोगाउने र घर छोडेर विदेश गएका नेपाली छोराछोरीलाई घर फर्काउने उद्देश्यले आयोजना गरिएको छ। उनले सबै नेपाली नागरिकलाई व्यवस्था परिवर्तनको लागि तयार हुन र मङ्सिर ७ गतेको आन्दोलनमा सहभागी हुन आह्वान गरे।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*