मौसम खराबका कारण त्रिभुवन विमानस्थलमा भद्रगोल, आकाशमै फन्का लगाइरहेका दर्जनौँ विमान
१३ कार्तिक २०८२, बिहीबार ११:०६

काठमाडौं । मौसममा आएको अचानक परिवर्तनका कारण राजधानीस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई आवागमन अवरुद्ध भएको छ। दृश्यता कम भएपछि विमानहरूलाई अवतरण अनुमति नदिँदा आकाशमै फन्का लगाउन बाध्य भएका छन्।
दमामबाट काठमाडौं आउँदै गरेको साउदी एयरको विमान हाल निजगढ आसपासको आकाशमा ‘होल्ड’ अवस्थामा छ। त्यस्तै, विराटनगरबाट आएको बुद्ध एयरको विमान र जनकपुर–काठमाडौं उडान पनि आकाशमै चक्कर काटिरहेका छन्।
ग्वान्जाउबाट उडान भरेको अर्को अन्तर्राष्ट्रिय विमान पनि अवतरण अनुमति नपाएपछि निजगढको आकाशमा प्रतीक्षा अवस्थामा राखिएको छ।

दृश्यता न्यून भएपछि विमानहरू सुरक्षित अवतरण गर्न नसक्दा त्रिभुवन विमानस्थलमा अवतरणका लागि दर्जनौँ उडान रोकिएका छन् भने यात्रु प्रभावित भएका छन्।














