अर्थमन्त्री खनालको निर्देशन: ‘राजस्व चुहावट नियन्त्रणमा सहकार्य र समन्वय सुदृढ गर्नुपर्ने’

१३ कार्तिक २०८२, बिहीबार १७:१६

काठमाडौं । अर्थमन्त्री रामेश्वरप्रसाद खनालको अध्यक्षतामा केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठक कार्तिक १३ गते अर्थ मन्त्रालयको सभाहलमा बसेको छ। बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव, गृह सचिव, अर्थ सचिव, नेपाल प्रहरीका महानिरीक्षक, सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक, भन्सार विभागका महानिर्देशक, आन्तरिक राजस्व विभागका महानिर्देशक, राजस्व अनुसन्धान विभागका महानिर्देशक, सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागका महानिर्देशकलगायत उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो।

बैठक अर्थ मन्त्रालयको राजस्व व्यवस्थापन महाशाखा प्रमुख उत्तरकुमार खत्रीको प्रस्तुतिबाट सुरु भएको थियो। उनले देशभर देखिएका राजस्व चुहावटका प्रवृत्ति, समस्या र नियन्त्रणका चुनौतीबारे विस्तृत जानकारी प्रस्तुत गरेका थिए।

बैठकमा राजस्व चुहावट नियन्त्रणका लागि केन्द्रदेखि जिल्ला तहसम्म सहकार्य र समन्वयलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिइएको थियो। अर्थमन्त्री खनालले जिल्लास्तरमा समेत समन्वयात्मक बैठक आयोजना गर्ने, सम्बन्धित निकायबीच सूचनाको आदानप्रदानलाई सुदृढ गर्ने र राजस्व चुहावट नियन्त्रणका लागि सवै निकायको सामूहिक प्रयास आवश्यक रहेको बताए।

उनले जिल्लास्तरका निकायहरुसँग संयुक्त रुपमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, समितिका आगामी बैठकहरु अन्य कार्यालयहरूमा पनि आयोजना गर्ने र जिल्लास्तरमा चुहावट नियन्त्रणमा संलग्न कार्यालयहरुलाई अनलाइन प्रणालीमार्फत जोड्ने व्यवस्था मिलाउन निर्देशन दिए।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*