पूर्व सुरक्षाकर्मी परिषदको अपीलः “पुराना दल त्यागी स्वतन्त्र भएर शक्ति निर्माणमा जुटौं”

काठमाडौं । पूर्व सुरक्षाकर्मी परिषद नेपालले देशभर रहेका सम्पूर्ण पूर्व सुरक्षाकर्मीहरूलाई पुराना राजनीतिक दल र तिनका भ्रातृ संगठनहरू त्यागी स्वतन्त्र रूपमा राष्ट्रिय एकता र शक्ति निर्माणमा जुट्न आह्वान गरेको छ।
परिषदका वरिष्ठ उपाध्यक्ष तथा संगठन विभाग प्रमुख पुष्प गौतमले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान, भारतीय गोर्खा, ब्रिटिश गोर्खा, सिंगापुर प्रहरी तथा अन्य निकायमा सेवा पूरा गरी अवकास प्राप्त सबै सुरक्षाकर्मीहरूलाई स्वतन्त्र भएर राष्ट्रिय हितमा संगठित हुन आग्रह गरेका छन्।
उनले विश्वास गरेर वर्षौंदेखि साथ दिंदै आएका पुराना दल र तिनका नेताहरू असफल, भ्रष्ट र योजनाविहीन भएकै कारण देश पछाडि परेर असुरक्षित, अपहेलित र अन्यौलतामा फसेकाले अब ती असफल नेताहरूको पछाडि लाग्नु राष्ट्र र भावी पुस्ताको बलिदानप्रति अपमान हुने बताएका छन्। पुराना नेता पूर्णरूपले असफल र भ्रष्ट चरित्रका कारण किताब–कापी बोकी स्कूल, कलेज जानुपर्ने नाती पुस्ताका जेनजी समूहले आफ्नो रगतको खोलो बगाएर दुई तिहाइ सरकारलाई सत्ताच्यूत गरी अन्तरिम सरकारलाई देश जिम्मा लगानुपर्ने सम्मको अवस्था आएको बताएका छन्।
उनका अनुसार जेनजी विद्रोहद्वारा सत्ताच्यूत गरिएका र सत्ताशक्ति विना एक मिनेट पनि बाँच्न नसक्ने पुराना शासकहरू आफ्ना कमी–कमजोरी र असफलतामाथि कुनै पश्चाताप समेत नगरी फेरि शासनमा फर्किन अनेक युक्ति गरेर देशलाई रणभूमि र अस्थिर बनाउने योजनामा रहेका छन्। असफल र असक्षम नेता भनेर जेनजी पुस्ताद्वारा खेदाइएका नेताहरूलाई अझै आदर्श मानेर डिंड्नु अशोभनीय हुने र यसले आन्दोलनमा ज्यान गुमाएका शहीदको अपमान हुने बताएका छन्।
गौतमले हालको राजनीतिक अवस्थालाई संवेदनशील र खतरापूर्ण भन्दै पूर्व सुरक्षाकर्मीहरूबीच एकता र संगठनको आवश्यकता औंल्याएका छन्। उनका अनुसार देशमा व्यावसायिक, अनुशासित र अनुभवी सुरक्षाकर्मीहरूको सहभागिता विना स्थिर शासन र विकास सम्भव छैन। पुराना दलहरू असफल भएका छन् र नयाँ पुस्तासँग पर्याप्त अनुभव नभएको अवस्थामा देशलाई स्थायित्व दिन र सही बाटोमा ल्याउन पूर्व सुरक्षाकर्मीहरूले नेतृत्व लिनुपर्ने समय आएको बताएका छन्।
गौतमले परिषदमार्फत गाउँदेखि केन्द्रीय तहसम्म बलियो संगठन निर्माण गर्ने र आवश्यक परे नयाँ राजनीतिक विकल्प निर्माण गर्न सकिने जानकारी पनि दिएका छन्। उनले सबै पूर्व सुरक्षाकर्मीहरूलाई आफ्ना सामाजिक सञ्जाल तथा समुदायमार्फत यस आह्वानमा जोडिन आग्रह गरेका छन्।
पुष्प गौतम पूर्व सुरक्षाकर्मी परिषद नेपालका वरिष्ठ उपाध्यक्ष तथा संगठन विभाग प्रमुख हुन्।













