सरकारको वित्तीय विवरण पेश: सञ्चित कोष ऋणात्मक, तर बैंक मौज्दात ६५ अर्बभन्दा बढी धनात्मक

काठमाडौँ । नेपाल सरकारको आर्थिक वर्ष २०८१/८२ को केन्द्रीय लेखाको एकीकृत वित्तीय विवरण महालेखा नियन्त्रक शोभाकान्त पौडेलले अर्थमन्त्री रामेश्वरप्रसाद खनालसमक्ष पेश गरेका छन्। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा २९ बमोजिम सो विवरण अर्थमन्त्रीलाई बुझाइएको हो।
त्यससँगै, ऐनको दफा ३३ को उपदफा ११ अनुसार आन्तरिक लेखापरीक्षणको वार्षिक प्रतिवेदन र नियमावली, २०७७ को नियम ७८ को उपनियम ७ बमोजिम नेपाल सरकारको सम्पत्तिको एकीकृत वार्षिक विवरण पनि पेश गरिएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ।
नेपालको संविधान, प्रचलित ऐन र अन्य कानूनको अधीनमा रही संघीय सञ्चित कोषको सञ्चालनको जिम्मेवारी महालेखा नियन्त्रक कार्यालयकै हुने भएकाले सो कार्यालयले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व कानूनको आधारमा एकीकृत विवरण समयमै पेश गरेको हो।
नेपाल सरकारबाट स्वीकृत सार्वजनिक क्षेत्र लेखामान र महालेखापरीक्षकबाट स्वीकृत लेखा ढाँचा अनुसार तयार पारिएको सो प्रतिवेदनमा सरकारको बजेट र अतिरिक्त बजेटरी निकायका प्रचलित कानूनी विवरणहरु समावेश गरिएको छ।
प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८१/८२ मा नेपाल सरकारको सञ्चित कोष रु १ खर्ब ९६ अर्ब ३४ करोड ५९ लाखले ऋणात्मक रहेको छ। यद्यपि विभिन्न कोष तथा अतिरिक्त बजेटरी निकायको मौज्दात रकमलाई आधार मान्दा नगद तथा बैंक मौज्दात रु ६५ अर्ब ८१ करोड २६ लाखले धनात्मक देखिएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ।













