वित्तीय खर्च घटेपछि तेह्रथुम पावरको नाफा ५ करोड ६२ लाख, प्रतिशेयर आम्दानी खुम्चियो

काठमाडौँ । तेह्रथुम पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय स्थिति सार्वजनिक गरेको छ। सार्वजनिक भएका तथ्यांकअनुसार कम्पनीको नाफामा सकारात्मक वृद्धि देखिएको छ।
असोज मसान्तसम्म कम्पनीले ५ करोड ६२ लाख रुपैयाँ मुनाफा कमाएको छ, जुन अघिल्लो वर्षको यही अवधिमा हासिल भएको ४ करोड ६० लाख रुपैयाँभन्दा करिब २२ प्रतिशतले बढी हो।
यो वृद्धि हुने मुख्य कारण कम्पनीको वित्तीय खर्चमा आएको उल्लेख्य गिरावट हो। समीक्षा अवधिमा विद्युत बिक्री आम्दानी अलि कम भए पनि वित्तीय खर्चमा देखिएको ५४ प्रतिशतभन्दा बढीको कटौतीले समग्र नाफामा सुधार ल्याएको कम्पनीको वित्तीय विवरणले देखाउँछ। यस अवधिमा कम्पनीको बिक्री आम्दानी ८ करोड २३ लाख रुपैयाँमा झरेको छ, जुन गत वर्षको तुलनामा ०.५० प्रतिशत न्यून हो। त्यस्तै, कुल नाफामा ०.८२ प्रतिशत र सञ्चालन नाफामा १.१४ प्रतिशत कमी आएको छ।
नाफा बढे पनि प्रतिशेयर आम्दानी भने कमजोर देखिएको छ। अघिल्लो वर्षको सोही अवधिमा ४६ रुपैयाँ ३ पैसा रहेको प्रतिशेयर आम्दानी यस वर्ष २८ रुपैयाँ १२ पैसामा झरेको छ। चुक्ता पूँजी दोब्बर वृद्धि भएर ८० करोड रुपैयाँ पुगेकाले प्रतिशेयर आम्दानी घट्ने परिणाम आएको विश्लेषण गरिएको छ।
कम्पनीको प्रतिशेयर नेटवर्थ ९९ रुपैयाँ ६१ पैसा रहेको छ भने शेरको मूल्य आम्दानी अनुपात ९.९९ गुणामा उभिएको छ। जगेडा कोष भने अझै ऋणात्मक अवस्थामै छ, जसमा यो अवधिसम्म ३१ लाख रुपैयाँ घाटा देखिएको छ।













