हिमालयन बैंकको सेवा १५ दिनदेखि अबरुद्ध, लाखौं ग्राहक प्रभावित

१७ कार्तिक २०८२, सोमबार १३:४६

काठमाडौँ। नेपाल राष्ट्र बैंकबाट क वर्गको अनुमति प्राप्त हिमालयन बैंकले आफ्ना ग्राहकलाई १५ दिनदेखि बैंकिङ सेवा पहुँचविहीन बनाएको छ। बैंकले सिस्टम स्तरोन्नतिको नाममा ग्राहकको खाता बन्धक बनाउँदा लाखौं ग्राहकले आर्थिक र दैनिक जीवनमा कठिनाइ भोग्नुपरिरहेको हो ।

लामो समयदेखि बैंकको कारोबार ठप्प हुँदा सामाजिक सञ्जालमा ग्राहकको आक्रोस पोखिएको छ भने बैंकले अझै जिम्मेवारीपूर्वक स्थिति व्यवस्थापन गर्न सकेको छैन। बैंकले गत असोज ३१ गते एक सूचना जारी गर्दै तिहारको मुख्य समयमा कात्तिक ३ गतेदेखि १० गतेसम्म आफ्नो कोर बैंकिङ सफ्टवेयर टी–२४ रिलिज आर–२३ मा स्तरोन्नति गर्ने योजना सार्वजनिक गरेको थियो। बैंकले सूचनामा सम्पूर्ण शाखा, एटीएम, मोबाइल बैंकिङ, अनलाइन बैंकिङ लगायतका सेवा बन्द हुने स्पष्ट उल्लेख गरेको थियो। तर १० गतेदेखि सेवा सुचारु हुने भनिएकोमा आज कात्तिक १७ गतेसम्म पनि ग्राहकले सामान्य बैंकिङ कारोबार गर्न सकिरहेका छैनन्।

बैंकिङ सेवा ठप्प हुँदा ग्राहकलाई आर्थिक, सामाजिक र स्वास्थ्यसम्बन्धी विभिन्न समस्याको सामना गर्नुपरेको छ। कतिपयले अस्पताल, विद्यालय, पसल र अन्य संवेदनशील क्षेत्रमा भुक्तानी गर्न नसक्दा असहजता महसुस गरेको बताएका छन्। धेरै ग्राहकले आफ्नो खातामा रहेका रकमसम्म पहुँच नपाउँदा दैनिक जीवनमा कठिनाइ भोगिरहेको जानकारी सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेका छन्।

ग्राहकले बेहोरेको असहजता र पिडाबारे बैंकले कुनै आधिकारिक जानकारी नदिँदा ग्राहकमा निरन्तर अविश्वासको वातावरण सिर्जना भएको छ। बैंकले आफ्नो आधिकारिक पेजमा मात्र सूचना जारी गरी कमेन्ट सेसन बन्द गरेको थियो, जसले गर्दा ग्राहकले प्रत्यक्ष प्रश्न सोध्ने वा समस्या उजागर गर्ने अवसर पाएका छैनन्। सामाजिक सञ्जालमा आक्रोस पोखिएका पोस्टलाई बैंकले भ्रम र अनैतिक गतिविधि को संज्ञा दिएको थियो जसले ग्राहकलाई थप आक्रोशित बनाएको छ।

नेपालका वित्तीय बजारमा प्रतिष्ठित बैंकमध्येका एक हिमालयन बैंकको यस्तो गैरजिम्मेवार कार्यप्रणालीले अन्य बैंकको विश्वासयोग्यता र वित्तीय प्रणालीमा पनि प्रश्नचिन्ह खडा गरेको छ। लाखौं ग्राहकको जीवनमा पर्न सक्ने असरको बावजुद बैंकले तत्कालीन कदम चाल्न असफल भएको छ।

यस विषयमा बैंकका सूचना अधिकारी सुनिल गोर्खालीलाई सम्पर्क गर्दा उनका सहकर्मी रिता सिंहले अधिकांश सेवा विस्तारै सुचारु भईरहेको उत्तर दिएकी छन्। उनले भनिन्, ‘केहि सेवा सुचारु भइसकेका छन्, तर मोबाइल बैंकिङमा अझै समस्या छ। अन्य सेवा पनि अलि स्लो भइरहेका छन्। आज साँझसम्म सेवा पूर्ण रूपमा सुचारु हुनेछ कि ?।’ यस्तो अस्पष्टता र ढिलाइले ग्राहकमा निरन्तर असन्तुष्टि र बैंकमाथि अविश्वास बढाएको छ।

बैंकको संस्थापक परिवारसँग सम्बन्धित व्यक्ति प्रमुख कार्यकारी अधिकृत रहेका हुनाले व्यवस्थापन र पारदर्शितामा कमजोरी देखिन थालेको छ। नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालयशमशेर जबराका छोरा अशोक राणा हाल सीईओ रहेका छन्। उनको कार्यकालमा बैंकको व्यवस्थापन कमजोर भएको, संस्थागत पारदर्शिता घटेको र निर्णय गर्ने तहमा संस्थापक समूहको प्रभाव कम हुँदै गएको देखिएको छ।

केन्द्रिय बैंक मौन रहँदा ग्राहकको पिडा बढ्दै गएको छ। नेपाल राष्ट्र बैंकको नियमनकर्मी क वर्गको इजाजत पाएको बैंकको व्यवस्थापनमा देखिएको अनियमितता र गैरजिम्मेवारीपूर्ण कार्यप्रणालीप्रति चौतर्फी आलोचना भइरहेको छ। लाखौं ग्राहकको खाता बन्दक रकदा समेत केन्द्रिय बैंक भने मुकदर्शक बनेको हो। नियमन गर्ने संस्था नै मौन हुँदा हिमालयनले बैंकिङ क्षेत्रमा अराजकताको रजगज जमाएको छ ।

हिमालयन बैंकको वित्तीय अवस्था संकटमा, सीईओ राणाको नेतृत्वमाथि गम्भीर प्रश्न

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*