वन अधिकृतसँग १ करोड ४३ लाख अकुत सम्पत्ति, श्रीमती र बुहारी समेत अख्तियारको फन्दामा

१७ कार्तिक २०८२, सोमबार १३:२८

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वन अधिकृत दान बहादुर श्रेष्ठमाथि १ करोड ४३ लाख रुपैयाँ अकुत सम्पत्ति कमाएको आरोपमा भ्रष्टाचारको मुद्दा चलाएको छ।

डिभिजन वन कार्यालय, इलाममा वन अधिकृत पदमा कार्यरत रही हाल डिभिजन वन कार्यालयमा, भोजपुरमा अधिकृत (दशौं तह) कार्यरत दान बहादुर श्रेष्ठले भ्रष्टाचार गरी अकुत सम्पत्ति कमाएको भन्दै उजुरी परेको थियो।

उजुरीपछि छानबिन अघि बढाएको अख्तियारले उनले नियुक्ति लिएको २०४८ साल असार २६ गतेदेखि सम्पत्ति विवरण बुझाएको २०८० फागुन १६ गतेसम्मको आय र व्यय विवरण केलाएको थियो।

यसक्रममा उनको कुल वैधानिक आय २ करोड १६ लाख ८५ हजार ५५७ रुपैयाँ देखिएकोमा सोही अवधिमा उनको कुल खर्च भने ३ करोड ६० लाख ४ हजार ४९५ रुपैयाँ रहेको खुलेको छ। श्रेष्ठले खर्च गरेको १ करोड ४३ लाख १८ हजार ९३७ रुपैयाँको स्रोत नखुलेपछि अख्तियारले गैरकानूनी रूपमा अकुत सम्पत्ति कमाएको ठहर गर्दै उनीविरुद्ध मुद्दा चलाएको हो।

अख्तियारले विशेष अदालत काठमाडौंमा दायर गरेको आरोपपत्रमा उनले वास्तविक हैसियतभन्दा निकै अमिल्दो, अस्वाभाविक र उच्च स्तरको जीवनयापन गर्ने गरेको समेत उल्लेख गरिएको छ।

साथै उनले सम्पत्ति विवरण पेश गर्ने क्रममा वास्तविक सम्पत्ति विवरण लुकाएर झुट्टा विवरण पेश गरेको समेत अनुसन्धानमा खुलेको छ। उनले कमाएको अकुत सम्पत्ति लुकाउन आफ्नो श्रीमती र बुहारी तथा बुहारी सञ्चालक रहेको कम्पनीको नाममा समेत खर्च गरिएको देखिएपछि त्यस्तो खर्च बापतको रकम जफत गर्नका लागि मात्र अख्तियारले उनीहरू सहित कम्पनीलाई समेत प्रतिवादी बनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*