केपी ओली, प्रचण्ड र शेर बहादुरको बैंक खाता खोज्दै राष्ट्र बैंक, पहिलो सूची सम्पत्ति शुद्धिकरण विभागमा

१८ कार्तिक २०८२, मंगलवार १८:२६

काठमाडौं । नेपाल राष्ट्र बैंकले पूर्व प्रधानमन्त्रीहरु केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड र शेर बहादुर देउवाको बैंक खाता सम्बन्धी विवरण खोजी तीव्र पारेको छ । सम्पत्ति शुद्धिकरण विभागको लिखित पत्रको आधारमा केन्द्रीय बैंकले सबै बैंकहरुलाई पत्र पठाएर तीन पूर्व प्रधानमन्त्रीहरुको बैंक खाता विवरण माग गरेको हो ।

असोज १२ गते राष्ट्र बैंकलाई पत्र पठाएर तीन पूर्व प्रधानमन्त्रीको नाममा रहेको बैंक खाता विवरण पठाउन भनिएको थियो । ‘राष्ट्र बैंकबाट तीन पूर्व प्रधानमन्त्रीहरुको बैंक खाताको विवरण पठाएको छ । अन्य निकायबाट केही पनि विवरण आएको छैन,’ सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका एक कर्मचारीले भने ।

विभागले असोज १२ गते नै कम्पनी रजिस्ट्रार कार्यालय र असोज ३० मा भूमि व्यवस्थापन तथा अभिलेख विभाग र नेपाल धितोपत्र बोर्डलाई पत्राचार गरी सम्पत्ति विवरण पठाउन भनिएको थियो ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले तीन पूर्वप्रधानमन्त्री र दुई पूर्वमन्त्रीका नाममा रहेको बचत खाता केलाउने काम सुरु भएको छ । विभागले उनीहरू र नजिकका नातेदारका नाममा रहेको जग्गा, कम्पनी, सेयरको विवरण माग्दै क्रमशः भूमि व्यवस्थापन तथा अभिलेख विभाग, कम्पनी रजिस्ट्रार कार्यालय र नेपाल धितोपत्र बोर्डलाई पत्र लेखेको थियो । विभागले राष्ट्र बैंकसँग भने बैंक खाता र कारोबार विवरण मागेको थियो ।

सार्वजनिक ओहदा दुरुपयोग गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको आशंकामा विभागले पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल तथा पूर्वमन्त्रीहरू आरजु राणा देउवा र दीपक खड्काको सम्पत्तिमाथि अनुसन्धान अघि बढाएको थियो । छानबिनको दायरामा देउवा पुत्र जयवीरसिंह पनि परेका थिए ।

नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड र कम्पनी रजिस्ट्रार कार्यालयलाई र जग्गाजमिनको विषयमा विवरण संकलन गरी बुझाउन भूमि व्यवस्थापन तथा अभिलेख विभागमा पत्राचार गरी सूचना लिएर दचल–अचल सम्पत्तिको खोजी प्रकृया अघि बढाउने भनिएपनि यतिबेला सरकार नै यस बिषयमा के गर्ने भन्ने बिषयमा सरकार यतिबेला अलमलमा परेको छ ।

नेपाल राष्ट्र बैंकले विभागले मागको नेताहरुको बचत खाता कति वटा रहेको छ भन्ने सूची भने सम्पत्ति शुद्धिकरणलाई पठाईसकेको छ । हामीले बैंकको कारोबारको लागि सम्बन्धीत बैंकमार्फत नै जानकारी लिन अनुरोध गरेर डाटा पठाइसकेको राष्ट्र बैंकका एक अधिकारीले बीमापोष्टसँग भने । स्रोतका अनुसार देउवा, दाहाल र ओलीका नाममा नेपाली बैंकमा जनही ३/४ वटा खाता पाइएको छ ।

सम्पत्ति शुद्दीकरण अनुसन्धान विभागले आरोपित व्यक्तिको विवरण माग गर्दै चार निकायमा पत्राचारमध्ये हालसम्म राष्ट्र बैंकले मात्र विवरण उपलब्ध गराएको पाइएको छ। त्यसमा पनि बैंक खाता संख्या मात्र उल्लेख छ । जसमा रकम भने उल्लेख गरिएको छैन ।

जेन–जी आन्दोलनको क्रममा पूर्व प्रधानमन्त्री शेर बहादुर देउवाको बुढानिलकण्ठस्थित निवासमा करोडौं रुपैयाँ भेटिएको थियो । आन्दोलनकारीले जलाएको नोटबाट सम्पत्ति शुद्धिकरण विभागले अनुसन्धान सुरु गरेको हो । त्यस्तै, पूर्व प्रधानमन्त्री प्रचण्डको खुमलटारस्थित निवासबाट पनि केही रकम जलाइएको अवस्थामा भेटिएको थियो । पूर्व मन्त्री दीपक खड्काको निजी निवासमा पनि पैसा भेटिएको थियो ।

गत २४ भदौमा प्रदर्शनकारीले पूर्वप्रधानमन्त्रीहरू देउवा र दाहाल तथा पूर्वमन्त्री खड्काको निवास आगजनी गर्दा जलेका नोटका भिडियो र तस्बिर सामाजिक सञ्जालमा छ्यापछ्याप्ती भएका थिए । विभागले देउवा, दाहाल र खड्काको घरमा पुगी मुचुल्का उठाएको थियो । त्यस बेला संकलित नोट लगायतका सामग्री जाँचका लागि विधि विज्ञान प्रयोगशालामा पठाइएको थियो । विभागले त्यसको रिपोर्ट माग्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलाई १२ असोजमै पत्राचार गरेको थियो । तर ब्युरोबाट रिपोर्ट आइनसकेको विभागका एक अधिकारीले जानकारी दिए ।

सम्पत्ति शुद्दिकरण विभागले छानविन गरिरहेका तीन पूर्व प्रधानमन्त्री मध्ये शेर बहादुर देउवा र पूर्व मन्त्री आरजु राणा देश छोडेर भागिसकेका छन् । उनीहरु उपचारको नाममा सिंगापुर पुगेका छन् । पूर्व प्रधानमन्त्री केपी शर्मा ओली उपत्यका बाहिर जान नपाउने गरी रोक लगाइएको अवस्थामा रहेका छन् । १२ असोजमै विभागको टोलीले पूर्वपरराष्ट्रमन्त्री राणाका भाइ भूषण राणाको जावलाखेलस्थित निवासमा छापा मारेर कागजात तथा उपकरण नियन्त्रणमा लिएको थियो ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*