गुराँस लघुवित्तको लोभलाग्दो प्रगतिः नाफासँगै ईपीएस वृद्धि, खराब कर्जा घट्यो

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ। उक्त वित्तीय विवरण अनुसार कम्पनीको वित्तीय सूचकहरूमा लोभलाग्दो प्रगति गरेको देखिएको हो।
अघिल्लो आवको पहिलो त्रैमाससम्म १ करोड १ लाख रुपैयाँ खुद नाफा कमाएको यस कम्पनीले चालू आवको सोही अवधिमा ४२.५७ प्रतिशतको वृद्धि सहित १ कराड ४४ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ।
नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) पनि ३५.०९ रुपैयाँबाट बढेर ५०.०३ रुपैयाँ पुगेको छ भने खराब कर्जा (एनपीएल) ३.१६ प्रतिशतबाट घटेर ३.१३ प्रतिशतमा झरेको छ। प्रतिशेयर नेटवर्थ १७२.१८ रुपैयाँ रहेको कम्पनीको वितरणयोग्य नाफा ६४ लाख २२ हजार रुपैयाँ रहेको छ।
त्यसैगरी समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ३ करोड १४ लाख रुपैयाँबाट बढेर ४ करोड २९ लाख रुपैयाँ, कुल सञ्चालन आम्दानी ४ करोड १२ लाख रुपैयाँबाट बढेर ४ करोड ७८ लाख रुपैयाँ र सञ्चालन नाफा १ करोड ४५ लाख रुपैयाँबाट बढेर २ करोड २ लाख रुपैयाँ पुगेको छ।
चुक्ता पूँजी ११ करोड ५८ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ३ करोड १५ लाख रुपैयाँ र रिजर्भमा ५ करोड २१ लाख रुपैयाँ रहेको छ। कम्पनीले २ अर्ब ४ करोड रुपैयाँ कर्जा प्रवाह गरेर ४९ करोड ७३ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ।













