पोखरामा ८८ करोड बढी सहकारी हिनामिना : अध्यक्ष–प्रबन्धकसहित ७ जना पक्राउ

१९ कार्तिक २०८२, बुधबार १६:१२

काठमाडौं । कास्कीको पोखरामा रहेका पोखरा बचत तथा ऋण सहकारी संस्थामा ठूलाे मात्रामा रकम हिनामिना भएको आरोपमा सहकारीका अध्यक्ष र प्रबन्धकसहित ७ जना पक्राउ परेका छन्। गण्डकी प्रदेश सहकारी रजिस्टारको कार्यालयले गरेको अध्ययनको निष्कर्षका आधारमा सहकारीको करिब ८८ करोड ७० लाख रुपैयाँ अपचलन भएको देखिएपछि अनुसन्धान अघि बढाइएको हो।

प्राप्त जानकारीअनुसार सहकारीको रकम व्यक्तिगत स्वार्थमा प्रयोग भएको, कृत्रिम ऋण र पेश्की खाताहरू खोलेर रकम निकालिएको, सहकारी ऐन विपरीत कार्य गर्दै सदस्य र ऋणीहरूलाई ठगी गरी अवैध लाभ उठाइएको रजिस्टार कार्यालयले गरेको अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ। सोही अध्ययनका आधारमा गत जेठमै प्रहरीमा पत्राचार भई अनुसन्धान प्रक्रिया अघि बढाइएको थियो।

बुधबार बिहान जिल्ला प्रहरी कार्यालय कास्कीले सहकारीका अध्यक्ष सुरेन्द्रबहादुर गोदार र व्यवस्थापक भीष्मप्रसाद गुरुङलाई नियन्त्रणमा लिएर थप ५ जना पदाधिकारी तथा पूर्व पदाधिकारीसमेतलाई पक्राउ गरेको हो। पक्राउ गरिएका व्यक्तिहरूमाथि जिल्ला अदालत कास्कीबाट म्याद थप गरी गम्भीर आर्थिक अपराध, सहकारी ठगी तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

रजिस्टार कार्यालयको प्रतिवेदनले व्यवस्थापक, कर्मचारी र सञ्चालक समितिका केही पदाधिकारीहरूको मिलेमतोमा सहकारी बचत रकम हिनामिना भएको ठहर गर्दै दोषीहरूमाथि कडा कारबाही गर्न सिफारिस गरेको थियो। बचतकर्ताहरूको रकम सुरक्षित राखेर पारदर्शी ढंगले सञ्चालन गर्नुपर्ने सहकारीमा उल्टै गैरकानूनी कार्यमार्फत ठूलो आर्थिक संकट निम्त्याएको प्रतिवेदनमा उल्लेख छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*