जेनजी आन्दोलनपछि लगानी वातावरणमा ठूलो धक्का परेको छः गभर्नर पौडेल

२० कार्तिक २०८२, बिहीबार १०:३६

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले हालैको जेनजी आन्दोलनले मुलुकको लगानी वातावरणमा नकारात्मक असर पारेको बताएका छन्। नागरिक पहलले काठमाडौंमा आज आयोजना गरेको ‘राष्ट्रहित सर्वोपरि कन्क्लेभ’मा सहभागी हुँदै उनले विगत दुई वर्षदेखि नै निजी क्षेत्र लगानी विस्तारमा हिच्किचाइरहेको अवस्थामा आन्दोलनपछि लगानीकर्ताको मनोबल थप खस्किएको बताए।

उनका अनुसार पुँजी प्रशस्त रहे पनि अर्थतन्त्रको तागत बढाउनुपर्ने ठाउँमा नयाँ परियोजनामा लगानी अघि बढ्न नसकिरहेको थियो। ‘अभियन्ता युवाहरुको आन्दोलनबाट उत्पन्न असन्तुष्टि अझ चर्किदै गएको छ, यसले आर्थिक निर्णयमा जोखिमबोध बढाएको छ’ गभर्नर पौडेलले उल्लेख गरे।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आंदोलन प्रारम्भिक स्वरूपमा आर्थिक–सामाजिक दबाबको परिणाम भए पनि पछि बाह्य तत्वको घुसपैठका कारण सार्वजनिक तथा निजी संरचनामा आक्रमणसमेत भएको धारणा राखे। उनका अनुसार, शान्तिपूर्ण असन्तुष्टिलाई हिंसात्मक मोड दिने प्रयासले व्यवसायीको विश्वास कमजोर बनाएको छ।

एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले आन्दोलनमार्फत सतहमा आएका समस्याले राजनीतिक दलहरूलाई प्रणालीगत सुधारतर्फ गम्भीर समालोचना पुर्‍याएको बताए। “व्यक्तिभन्दा संस्थागत सुधारमा केन्द्रित हुनैपर्छ,” ज्ञवालीले उल्लेख गरे।

त्यसैगरि नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले सो आन्दोलन कांग्रेसप्रति पनि चेतावनीका रूपमा आएको स्वीकारोक्ति व्यक्त गरे। सरकारको नेतृत्व उसकै हातमा रहेका बेलामा जनताले सडकमा असन्तुष्टि पोख्नु कांग्रेसका लागि पाठ भएको उनको भनाइ थियो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*